वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले नेपालमा गठबन्धन संस्कृति अबको राजनीतिक यथार्थ भएको बताउँदै यसलाई सधैँ नकारात्मक रूपमा मात्र लिन नहुने बताएका छन्।
साथै, उनले नेपाली नेताहरूले आफ्नो कमजोरी र नालायकी लुकाउन सधैँ विदेशी शक्तिलाई दोष दिने गरेको भन्दै आलोचना समेत गरे।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै प्रा. बरालले निर्वाचन प्रणालीका कारण कुनै पनि एक दलको स्पष्ट बहुमत आउन गाह्रो रहेको भन्दै मिलिजुली सरकारको अभ्यासलाई सुधारेर लैजानुपर्नेमा जोड दिएका हुन्।
प्रा. बरालले गठबन्धन सरकार आफैँमा नराम्रो नभई यसलाई चलाउने नेताहरूको संस्कार खराब भएको औंल्याए। ‘छिमेकी भारतमा मनमोहन सिंहले १० वर्षसम्म गठबन्धन सरकार सफलतापूर्वक चलाएर देखाए। त्यहाँ गठबन्धनको एउटा संस्कार बसिसक्यो,’ उनले भने, ‘तर हामीकहाँ भने गठबन्धनलाई केवल सत्ता स्वार्थको हतियार र पद बाँडफाँटको भर्याङ मात्र बनाइयो। लोकतन्त्रमा मिलिजुली सरकार स्वाभाविक हो, तर यसलाई चलाउन राजनीतिक इमानदारी चाहिन्छ।’
नेपालमा सरकार ढल्दा वा नयाँ बन्दा सधैँ विदेशी शक्ति खासगरी भारत, चीन वा अमेरिकालाई दोष दिने प्रवृत्तिप्रति प्रा. बरालले कडा प्रहार गरे। उनले आन्तरिक राजनीति बलियो र स्थिर भए बाह्य शक्तिले खेल्न नसक्ने स्पष्ट पारे।
‘हाम्रो आफ्नो मानसिकता नै अस्थिर छ। नेताहरू आफू-आफू मिल्न नसक्ने, अनि दोष जति विदेशीलाई दिएर उम्किने ?’ उनले प्रश्न गरे, ‘यो आफ्नो आन्तरिक कमजोरी, असक्षमता र अकर्मण्यता लुकाउने मेलो मात्र हो। घरको जग बलियो भए छिमेकीले आएर भत्काउन सक्दैन।’
अन्तर्वार्ताका क्रममा प्रा. बरालले वर्तमान नेपाली राजनीतिमा जोखिम लिन सक्ने दूरदर्शी नेताको अभाव रहेको विश्लेषण गरे।
‘नेता भनेको समय र परिस्थिति आएपछि देशका लागि जोखिम मोल्न सक्ने हुनुपर्छ। हिजो बिपी कोइरालामा मृत्युदण्डको पर्वाह नगरी स्वदेश फर्किने त्यो साहस थियो,’ प्रा. बरालले भने, ‘तर अहिलेका नेताहरूमा त्यो लिडरसिप क्वालिटी र रिस्क लिने क्षमता नै देखिएन। उनीहरूको सम्पूर्ण ध्यान खाली आफ्नो पद र सत्ता कसरी जोगाउने भन्नेमै केन्द्रित छ।’
नयाँ उदाएका राजनीतिक दल र युवा पुस्ताले परम्परागत दलहरूलाई ठूलो चुनौती दिएको उल्लेख गर्दै उनले भने, ‘यो चुनाव पुराना दलहरूका लागि अन्तिम वेकअप कल हो। समयमै नसुध्रिए उनीहरूको राजनीतिक स्पेस अब युवा पुस्ताले कब्जा गर्नेछन्।
प्रकाशित: १३ फाल्गुन २०८२ २०:०७ बुधबार





