सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले योजना किनबेच हुने भनेर आलोचना हुने गरेको प्रदेशको पहिचान बदल्ने प्रतिबद्धता जनाएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारमा वर्षौँ देखि बजेट बनाउँदा बिचौलिया मार्फत कमिसन खाएर योजना किनबेच हुने आरोप लाग्दै आएको छ। यसअघि नेपाली काग्रेस र नेकपा एमाले बिचको सत्ता समीकरण पनि बिचौलिया मार्फत योजना किनबेच भएको बजेट पुनर्लेखन गर्नुपर्ने विवाद उत्कर्षमा पुग्दा टुटेको थियो।
योजना किनबेचले प्रदेश सरकारमाथि जनस्तरबाट प्रश्न उठिरहेको सन्दर्भमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सभामा बुधबार विश्वासको मत माग्ने क्रममा यो पहिचान बदल्ने बताएका हुन्।
‘योजना किनबेच हुने भनेर आलोचना गरिने प्रदेशको पहिचानबाट प्रदेशको सामर्थ्य र पहिचानको आधारमा हाम्रो समृद्ध इतिहासलाई फेरी ब्युँताउने चुनौती र अवसर मेरा सामु छ,’उनले भने।
मुख्यमन्त्री भट्टले प्रदेश सभा बैठकमा विश्वासको मत माग्न प्रस्ताव पेस गर्दै अवसर थोरै र चुनौती धेरै रहेको बताए। संघियताको मर्ममाथि प्रहार भइरहेको उल्लेख गर्दै प्रदेश संरचना आवश्यक छ भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाई छ।
‘एकथरी मान्छेले प्रदेश संरचना अनावश्यक रहेको भाष्य निर्माण गर्दै यसको उद्देश्य र उपादेयता माथि प्रश्न उठाइरहेका छन्। अर्कोतिर कहिले पुराना दल र ३५ वर्षको भाष्य बनाएर जनतामाझ परिवर्तनका हिमायती राजनीतिक शक्ति र नेतृत्व माथि वितृष्णा सृजना गरेर जनतामा व्यवस्था प्रति नै असन्तुष्टि सृजना गर्ने प्रयास भइरहेको छ’उनले भने,‘यो समय सबै भाष्य चिरेर संघियताको मर्म माथि प्रहार गर्ने चलखेललाई परास्त गर्नु पर्ने ठुलो चुनौती छ’।
प्रदेश सरकारले निर्वाह गर्ने भूमिकाले मात्र यो चलखेल रोक्न सकिने उनले बताए। जनतालाई जबरजस्त ओढाउन खोजेको निराशाको च्यादर च्यातेर व्यवहारबाटै प्रदेशको औचित्य साबित गर्न सकिनेमा आफू आशावादी रहेको उनको भनाई थियो।
ऐतिहासिक उत्पीडनमा परेको यो प्रदेश अझै पनि मानव सुचांक, गरिबी र बेरोजगारीमा अझै दयनीय अवस्था रहेको उनले बताए। स्वास्थ्य, शिक्षा, प्रतिव्यक्ति आय सबै सुचाङ्कमा कारुणिक अवस्था रहेको उल्लेख गर्दै यो बदल्नु पर्ने उनको भनाई छ।
भारतका गल्लीमा जाने यहाँका बासिन्दा मध्यपूर्वका देशमा रोजगारीको लागी जानु पर्ने बाध्यता उस्तै रहेको उनको भनाई छ।
केन्द्रको उत्पीडन र शोषणमा परेको यो प्रदेशको जनताको जीवन स्तर उकासेर आत्मसम्मान, पहिचान र स्वाभिमान बढाउने उनले बताए।
आफूसँग हुटहुटी, सपना र स्पष्ट लक्ष्य र दृष्टिकोण रहेको उनको भनाई छ। दुर्गम, अति दुर्गम बस्तीमा पुगेको उनले बताए।
‘हरेक जनताको पिर मार्कामा डुबेको छु, हेलिएको छु, कसको चुल्होमा के पाकेको छ ? त्यो आफ्नै आँखाले देख्ने र आफैले भोग्ने सम्मको अनुभूति गरेको छु,’उनले भने, ‘जनताले बाँच्नका लागी कसरी गरिरहेका छन् भन्ने कुरा मैले गहिरो सँग अनुभूति गरेको छु’।
प्रकाशित: ३ भाद्र २०८३ १८:४७ बुधबार


-600x400.jpg)


-600x400.jpg)