राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र टुटफुट र गुटको संघर्ष नयाँ विषय होइन । अलिकति विवाद भयो कि विभाजन भइहाल्ने रोगले ग्रसित राप्रपाले नेतृत्व परिवर्तन गर्दै ०७९ को निर्वाचन परिणाममा सुधार गरेपछि राप्रपामा कार्यकर्ता र शुभेच्छुकहरूको आकर्षण बढेको छ । पछिल्ला वर्षहरुमा राजसंस्थाका पक्षमा बहस र आन्दोलनहरु बढेसँगै वर्तमान राज्य व्यवस्थाको विरोध गर्ने राप्रपालाई वैकल्पिक शक्तिका रुपमा पनि हेर्ने गरिन्छ । तर राप्रपालाई पुरानो रोगले अझै छाडेको छैन ।
अहिले राप्रपामा दुईपक्षीय संघर्षले उग्ररुप लिएको छ । महामन्त्री धवल शमसेर राणा र संस्थापन पक्षबीच संयुक्त जनआन्दोलन समिति बनेयता अन्तरसंघर्ष चुलिँदै गएको छ । झट्ट हेर्दा राप्रपाभित्रको अन्तरसंघर्ष अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणाबिचको जस्तो देखिए पनि वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको सक्रियता यसमा बढी पाइएको छ । सारमा भन्दा राणा नेतृत्वलाई प्रहार गर्ने पाण्डेको गलत योजनाको हतियार बनिरहेका छन् ।
बुधवार पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन संस्थापनइतर पक्षको हुलदंगाका कारण स्थगित भएको छ । अधिवेशनको उद्घाटन सत्र सुरु नहुँदै विक्रम पाण्डेनिकट काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष ऋद्धि प्रताप राणा दर्जनौं युवासहित हलभित्र प्रवेश गरे । उनीहरुले बन्दसत्रमा हुनुपर्ने नेतृत्व चयन सम्बन्धी विषयलाई लिएर बखेडा सिर्जना गरे र होहल्ला मच्चाए । हुलदंगा नरोकिएपछि अधिवेशनमा प्रमुख अतिथिका रुपमा पुगेका अध्यक्ष लिङ्देनले हस्तक्षेप गरेर साम्य बनाउन कोशिस गरे । उनले आफूलाई लागेका हरेक कुरा बन्दसत्रमा राख्नसकिने भन्दै कार्यक्रम सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेका थिए । तर राणाको नेतृत्वमा आएका युवाहरुले हल्ला गर्न बन्द गरेनन् । होहल्ला नरोकिएपछि रिसाएका अध्यक्ष लिङ्देनले अधिवेशन भाँड्न पार्टी र संगठनभन्दा बाहिरका मानिसहरु सहभागी भएको दाबी गर्दै छानबिनपछि मात्र अधिवेशन प्रक्रिया सुरु हुने बताए । अहिलेका युवाहरुले भविष्यमा पार्टीको नेतृत्व गर्ने भएकाले कसैको हतियार नबन्न उनको अपिल थियो । लिङदेन बाहिरिए पनि अधिवेशन स्थल सो पछि पनि केहीबेर तनावग्रस्त बनेको थियो । उनीहरुले चुनावबाट नेतृत्व हत्याउन नसक्ने देखिएपछि हुलदंगा गरेर एकपक्षीय घोषणा गरेको संस्थापन पक्षधर युवाको दाबी छ ।
अध्यक्षले मुठभेडको परिस्थितिका बीच अधिवेशन गर्न अनुपयुक्त हुने बताएर स्थगितको घोषणा गरेपछि असन्तुष्ट पक्षले पार्टीमै नरहेका रिह्याब सेन्टरका ज्योति लामालाई अध्यक्ष घोषणा गरेका छन् । ऋद्धि राणा पनि माया नेपाल नामक रिह्याब सेन्टरका सञ्चालक हुन् । कार्यक्रमस्थल प्रवेश गर्ने सबैजसो युवा रिह्याब सेन्टरका रहेको दाबी संस्थापन पक्षको छ । यसपटक राणालाई पार्टीका सहायक प्रवक्ता प्रवीण थोकरले समेत साथ दिए, थोकर अध्यक्ष लिङ्देनले मनोनित गरेका पदाधिकारी हुन् ।
ऋद्धिप्रताप राणा तिनै व्यक्ति हुन् जसले राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी कार्यालयभित्रै कार्यसम्पादन समिति सदस्य डा.ठाकुरमोहन श्रेष्ठमाथि हातपात गरेका थिए । सो प्रकरणमा उनीसहित अन्य केहीलाई प्रहरीमा उजुरी परेको थियो भने पार्टीको अनुशासन समितिले सदस्यता निलम्बन गरेको थियो । वरिष्ठ उपाध्यक्ष पाण्डेको संरक्षणमा हुर्किएका राणा र अन्यको निलम्बन फुकुवा गराउन सिंगो पार्टीको इतरपक्ष लागेको थियो । तीन दिनको केन्द्रीय समिति बैठक पुरै निलम्बन फुकुवाको पक्ष र विपक्षमा विभक्त भयो । भौतिक हमला गर्नेहरुका पक्षमा पार्टी संस्थापनइतरका नेताहरु हात धोएरै लागे । महामन्त्री कुन्ती शाही, महामन्त्री धवलशमसेर राणा, उपाध्यक्ष विक्रम पाण्डे र उनीहरु निकट केन्द्रीय सदस्यहरु, डाक्टर ठाकुर मोहनमाथि हातपात गर्नेहरुको निलम्बन फुकुवा गर्ने एकसुत्रीय एजेण्डा लिएर आरोपप्रत्यारोपमा उत्रिए । घटनामा संलग्न दोषीहरुले माफी मागेपछि सबै नेताहरुले एकपटकलाई माफी दिने निर्णय भएको थियो ।
नेतृत्व परिवर्तन भएयता राप्रपाको शक्ति संघर्ष मूलतः अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष पाण्डेबीच चलिरहेको देखिन्छ । जसमा धवल शमसेर राणाले पाण्डेको साथ दिइरहेका छन् वा उनी मोहरा बनिरहेका छन् भन्ने भेउ पाएका छैनन् । एउटा स्पष्ट छ, राप्रपाको संस्थापनइतर पक्षको गुट विक्रम पाण्डेले चलाइरहेका छन् । धवल शमसेर, कुन्ती शाहीसहितका केही पदाधिकारी र सदस्यहरुले बुझेर/नबुझेर उनको साथ दिइरहेका छन् ।
उदाहरणका लागि, संयुक्त जनआन्दोलन समितिको गठनलाई लिन सकिन्छ । धवल र अर्का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीनकुने घटनामा हिरासतसम्म पुग्दा पाण्डेको पहल शुन्य प्राय: थियो । जनआन्दोलन सम्बन्धमा पानीमाथिको ओभानो बन्न खोजेका पाण्डेको भूमिका शंकास्पद देखियो । निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी, हरिबहादुर बस्नेतजस्ता पूर्वपञ्चलाई आन्दोलनको मोर्चामा उभ्याएर उनी भने नेपथ्यमा बसे । पार्टीलाई पार्टी बाहिरको संयन्त्रमा लैजाने पाण्डेको दाऊ लिङ्देनलाई अप्ठ्योमा पार्ने थियो । पशुपति शमसेर जबरालाई सांसद बनाएपछि बिच्किएका प्रकाशचन्द्र लोहनीले समेत लिङ्देनसंग बदला लिन पाण्डेलाई साथ दिए ।
राप्रपाको अध्यक्षका रुपमा कार्यकर्ताले आफूलाई नस्वीकार्ने बुझेका पाण्डेमाथि भ्रष्टाचारका मुद्दा पनि छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिक्टा सिँचाइ आयोजना निर्माणमा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री पाण्डेसहितलाई प्रतिवादी बनाएर दायर गरेको ८ अर्बको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन अवस्थामा छ । विशेष अदालतले नहरको माटोलाई दोषी देखाउँदै पाण्डेसहित सबै प्रतिवादीलाई सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो । ‘क’ वर्गका ठेकेदार रहेका पाण्डेलाई माटोको दोष देखाएर भ्रष्टाचारबाट उन्मुक्ति दिन नहुने जिकिर अख्तियारको छ ।
यस्तै सर्वोच्च अदालतको भवन निर्माणका क्रममा भ्रष्टाचार भएको भन्ने विषय पनि विचाराधीन अवस्थामा देखिएको छ । जग खन्ने कामका लागि प्रचलित बजार मूल्यभन्दा ७ करोड ५८ लाख ५१ हजार ६४७ रुपैयाँ बढीको लागत अनुमान तयार गरी बिनापुरी कालिका समानान्तर जेभीले भ्रष्टाचार गरेको देखिएको छ ।
पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाँदा पाण्डे पनि मन्त्री बनेका थिए । तर राप्रपा सरकारबाट बाहिरिएलगत्तैदेखि अध्यक्ष लिङदेनसँग उनको दुरी बढ्यो र कार्यक्रम भाड्ने, निर्वाचित अध्यक्षलाई पार्टी सञ्चालनमा असहज बनाइदिने लगायत काम गर्न थालेको निकट नेताहरु नै बताउँछन् ।
राप्रपाको राजनीतिमा पाण्डेको उदय लोकेन्द्र बहादुर चन्द बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थामा ०५३ मा प्रधानमन्त्री भएको बेला भएको थियो । झापा र इलामका विभिन्न सडकको ठेक्का गर्दै गर्दा राप्रपा छिरेका उनी सो पछिको लामो समय सधैं संस्थापनको निकट भएर बसेका हुन् । तर लिङदेन अध्यक्ष भएपछि भने आफूले भनेजस्तो नहुँदा अध्यक्ष र संस्थापन पक्षसँगको उनको दुरी बढेको हो । असन्तुष्ट समूहलाई पनि समान अवसर दिएर शक्ति सन्तुलन मिलाउने प्रयासमा लिङदेनले पाण्डेलाई पनि सरकारमा सँगै लिएर गए । तर सरकार छाडेपछि उनै पाण्डे लिङदेनका हरेक काममा अवरोध पुर्याइरहेका छन् भन्ने चर्चा राप्रपा वृत्तमा व्यापक छ ।
राप्रपाका संगठनहरुको अधिवेशन चलिरहँदा र केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा सतहमा देखिएका यस्ता गतिविधिसँग भिड्न अब लिङ्देनले कस्तो रणनीति तय गर्लान् भन्ने चाँही भविष्यले देखाउला ।
प्रकाशित: २९ श्रावण २०८२ १६:०९ बिहीबार





