११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कुलमान घिसिङलाई रास्वपामा ल्याउन छलफल जारी: खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान मन्त्री कुलमान घिसिङलाई पार्टीमा ल्याउने विषयमा छलफल गरिरहेको जनाएको छ।

शुक्रबार पार्टीद्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा नेता शिशिर खनालले घिसिङलगायत अन्य स्वतन्त्र व्यक्तित्वहरूसँग पनि निरन्तर संवाद भइरहेको बताएका हुन्।

उनले सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति भएमा घिसिङलाई सभापति बनाउने विषयमा समेत पार्टीभित्र छलफल हुन सक्ने संकेत दिए।

यद्यपि, यस्तो निर्णयका लागि तर्कसंगत आधार चाहिने र पार्टीको केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्ने उनले स्पष्ट पारे।

‘यदि रवि लामिछाने र कुलमानजी बसेर सभापति बन्ने सम्झौता भयो भने पनि यो औपचारिक संस्था हो, केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ, छलफल हुनुपर्छ। छलफल त कुनै तर्कसंगत आधारमा हुनुपर्‍यो नि,’ खनालले भने।

नेता खनालले कुलमान घिसिङ, काठमाडौंका मेयर बालेन शाहको टिमका सदस्य, विवेकशील पार्टीलगायत अन्य राजनीतिक दल र चर्चामा नरहेका तर समाजमा महत्वपूर्ण योगदान दिइरहेका युवाहरूसँग पनि पार्टीले संवाद गरिरहेको बताए।

‘संवाद जारी छ। कुलमानजी लगायत अन्य व्यक्तित्वहरुसँग निरन्तर संवादमा छौं। आज पनि हामी संवादमा छौं, हिजो पनि थियौं, भोलि पनि त्यो संवाद रहिरहन्छ,’ उनले भने।

‘आयातित सभापति चाहिँदैन’ भन्ने चर्चाका बीच रास्वपाले सम्मानित पदमा व्यक्तिहरूलाई ल्याउन खुला रहेको तर कुनै सर्तमा आधारित भएर नहुने खनालले स्पष्ट पारे।

उनले रास्वपालाई आगामी निर्वाचनमा अझ बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न यस्ता संवादहरू आवश्यक रहेको बताए।

प्रकाशित: १४ कार्तिक २०८२ १९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App