१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन सुधारका लागि आयोग र राजनीतिक दलबीच छलफल

निर्वाचन आयोगले निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग छलफल गरेको छ। 

शुक्रबार आयोगले निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता, बदर मत न्यूनीकरण, मतदाता नामावलीको शुद्धता, विदेश तथा अन्तरजिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोगलगायत विषयमा छलफल गरेको हो। 

छलफलमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा तथा राजनीतिक दलसम्बन्धी ऐनमा भएका व्यवस्थाअनुसार दलहरूले गर्नुपर्ने कार्यसहित समग्र निर्वाचन सुधारका विषयमा विचार आदानप्रदान गरिएको आयोगले जनाएको छ। 

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरेकाले स्थायी ठेगानाभन्दा बाहिर अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए। 

त्यसैगरी निर्वाचनमा सूचना प्रविधिको प्रयोग गर्दा विज्ञहरूको सुझाव र परामर्शका आधारमा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी आवश्यक अध्ययन गरेर मात्रै अघि बढ्नुपर्नेमा दलहरूले जोड दिएका थिए। निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा र मतदाता नामावली तयारीलगायतका विषयमा आयोगलाई सहयोग गर्ने प्रतिबद्धता पनि दलका प्रतिनिधिहरूले व्यक्त गरेका थिए। 

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दल र आयोगबीचको आपसी सहयोग तथा सहकार्यबाट लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनका सबै पक्षमा समयानुकूल सुधार गर्न सकिने बताए। 

उनले निर्वाचन सुधारका लागि राजनीतिक दलहरूबाट उल्लेखनीय सहयोग प्राप्त भइरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।  

प्रकाशित: १७ आश्विन २०८३ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App