२१ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रत्यक्ष कार्यकारी प्रणाली नेपालका लागि उपयुक्त छैन, संविधान संशोधन गर्न सकिन्छ: भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताएकी छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यकता र कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने भए पनि शासकीय स्वरूप परिवर्तन गर्न नहुने विचार व्यक्त गरिन्।

उनले भनिन्, ‘संविधान संशोधनको सन्दर्भमा बेला–बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणाली हाम्रो जस्तो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन। जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणाली आवधिक निर्वाचन नै हो।’

नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामलाई गम्भीर आत्मसमीक्षा र आत्ममन्थनको अवसरका रूपमा लिनुपर्ने बताइन्।

तर, कुनै एउटा निर्वाचनको परिणामकै आधारमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने उनको तर्क छ।

जननेता मदन भण्डारीको प्रसंग उल्लेख गर्दै उनले रचनात्मकताको अभाव नै कम्युनिस्ट आन्दोलनको मूल समस्या भएको बताइन्। ‘आज आन्दोलनले सामना गरिरहेका चुनौतीहरूलाई हेर्दा उहाँको यो निष्कर्ष अझ सान्दर्भिक भएको अनुभव हुन्छ,’ उनले थपिन्, ‘बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, संगठन र कार्यशैलीमा अपेक्षित सृजनशीलता ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई हामीले गम्भीरताका साथ आत्मसात् गर्नुपर्छ।’

अब विगतको उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै उनले वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक रहेको औँल्याइन्।

युवा पुस्ताका आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन र उत्पादनमुखी अर्थतन्त्रका विषयमा समय अनुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्।

प्रकाशित: १४ असार २०८३ १७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App