नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले प्रहरी संगठनमा हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काउँदा विगतमा त्यसको परिणाम भोगिसकेको भन्दै सरकारलाई सचेत गराएकी छन्।
प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप, राज्यका निकायमा स्वेच्छाचारिता, अध्यादेश र अपारदर्शी निर्णय गर्ने शैलीले सरकारप्रति थप आशा गर्नु बेकार हुने निष्कर्षमा पुगेकाहरूलाई नै बल पुग्ने उनले बताएकी छन्।
संग्रौलाले सामाजिक सञ्जालमार्फत प्रहरी संगठनको चेन अफ कमान्ड भत्काउने कार्यले राज्य सञ्चालनमा नकारात्मक प्रभाव पार्ने भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।
‘प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी 'चेन अफ कमान्ड' भत्काउँदाको परिणाम विगतमा हामीले भोगिसकेका छौं । राज्यका निकायहरूमा स्वेच्छाचारिता, अध्यादेश अनि अपारदर्शी निर्णय गर्ने शैलीले यो सरकारबाट थप आशा गर्नु बेकार हुने निष्कर्षमा पुगी सकेकाहरुलाई नै बल पुग्ने निश्चित छ,’ उनले लेखेकी छन्।
झन्डै दुईतिहाइको सरकारले थिति बसाल्ने अपेक्षा गरेका जनताले फेरि दुःख पाउने दिन नआओस् भन्दै उनले सरकारलाई सचेत गराएकी छन्।
‘झन्डै दुईतिहाइको सरकारले थिति बसाल्ने अपेक्षा गरेका जनताले फेरि दुःख पाउने दिन नआओस् । जय नेपाल!’ संग्रौलाले लेखेकी छन्।
प्रकाशित: १९ कार्तिक २०८३ ०७:३४ बिहीबार





