२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री छान्ने अधिकार बालेन कि रविलाई ?

समानुपातिकतर्फको मतगणना सकिएसँगै नयाँ सरकार गठन कहिले हुन्छ भन्ने बहस सुरु भएको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा दुईतिहाइ बहुमत नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन गर्ने तयारी अघि बढाएको छ। निर्वाचनका बेला नै रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।

समानुपातिकतर्फ प्राप्त मतका आधारमा सीट बाँडफाँटको प्रक्रिया सकिएपछि मात्र सरकार गठनबारे औपचारिक छलफल सुरु हुने रास्वपाका नेताहरूले बताउँदै आएका थिए। निर्वाचन आयोगले सिट बाँडफाँट गर्दै दलहरूलाई समानुपातिक सांसद चयनका लागि पत्र पठाइसकेको छ।  

रास्वपाका केन्द्रीय सदस्य तथा भूतपूर्व शिक्षामन्त्री शिशिर खनालका अनुसार मन्त्री छनोटमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको निर्णायक भूमिका रहनेछ। यसअघि रास्वपा नेता असिम शाहले पनि सामाजिक सञ्जालमार्फत मन्त्री बन्नका लागि दौडधुप, भनसुन वा प्रचार गर्न आवश्यक नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बनेपछि बालेनले आफ्नो टोली आफैँ छनोट गर्ने बताएका थिए। उनले सबै सांसदहरूको क्षमता र योग्यता बालेनलाई राम्रोसँग थाहा भएकाले क्याबिनेट चयनमा बाहिरी दबाब नचल्ने दाबी गरेका छन्।

मन्त्रिपरिषद्को आकार भने सानो राख्ने रास्वपाको तयारी देखिएको छ। पार्टीको वाचापत्रमा १८ सदस्यीय मन्त्रिपरिषद्को उल्लेख भए पनि पहिलो चरणमा करिब १५ सदस्यीय क्याबिनेट बन्न सक्ने नेताहरूले बताएका छन्। सुशासन, पारदर्शिता र मितव्ययिताको सन्देश दिने उद्देश्यले सानो तर प्रभावकारी मन्त्रिपरिषद् बनाउने रणनीति पार्टीको रहेको उनीहरूको भनाइ छ।

रास्वपाले भविष्यमा सरकारलाई आवश्यक नीतिगत सुझाव दिन संसद्, सरकार र पार्टीबीच समन्वय गर्ने अलग समिति गठन गर्ने सम्भावनासमेत रहेको जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०८२ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App