नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र आर्थिक चलखेल मौलाएको र नेताहरूको निष्ठामाथि प्रश्न उठेको बताएका छन्।
पार्टी सभापति गगन थापा जोडिएको भनिएको १८ करोड रुपैयाँको अडियो प्रकरणप्रति आक्रोश पोख्दै देउवाले ‘अब पैसामा पार्टी बेच्ने ?’ भन्दै प्रश्न गरे।
नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति (देउवा पक्ष) ले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको १५औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वसभापति देउवाले उक्त टिप्पणी गरेका हुन्।
समानान्तर गतिविधि गर्दै आएको देउवा पक्षको अधिवेशनमा उनीसहित नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायतका शीर्ष नेताहरू उपस्थित थिए।
कार्यक्रममा बोल्दै देउवाले पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक भएको इनम सापकोटाको विवादास्पद अडियो प्रकरणबारे भने, ‘त्यो के नाम पो रे... इनम सापकोटाले १८ करोड भनेको छ, बाफ रे बाफ ! १८ करोड सानो पैसा हो र ? त्यो पैसा दिएर पार्टी किन्दियो, अब पैसामा पार्टी बेच्ने हामीले ?’
विशेष महाधिवेशनको सन्दर्भ जोड्दै देउवाले विगतको इतिहास स्मरण गराए। उनले सुवर्ण शमशेर सभापति हुँदा विशेष महाधिवेशन बोलाइएको र त्यसपछि आफू सभापति भएका बेला पनि त्यस्तै अभ्यास भएको उल्लेख गरे।
पार्टीमा विवाद भए नियमित वा विशेष महाधिवेशन बोलाउन आफूले पहिले नै सल्लाह दिएको दाबी गर्दै उनले प्रक्रिया मिचेर गरिएको कदमप्रति असन्तुष्टि जनाए।
‘मलाई धेरै पदको रहर छैन, म त अनरेबल रिटायरमेन्ट चाहन्छु,’ देउवाले भने, ‘अब पार्टी सभापति म छु, मलाई निकाल्ने अधिकार पनि छैन, मैले महाधिवेशन गराउने पनि होइन। साथीहरू आन्दोलनमा उत्रिएका छन्।’
काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राजनीतिक गतिविधिले देशभरि र अन्तर्राष्ट्रिय रूपमा समेत प्रभाव पार्ने भन्दै उनले काठमाडौं जिल्ला अधिवेशनको विशेष महत्त्व र जिम्मेवारी रहेको बताए।
आफू लामो राजनीतिक सङ्घर्ष, विद्यार्थी आन्दोलन र पटक-पटक जेलनेल भोगेर यो स्थानमा आइपुगेको स्मरण गर्दै उनले पैसाको बलमा पार्टी कब्जा गर्ने वा बदनाम गराउने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।
प्रकाशित: २१ कार्तिक २०८३ १८:३० शनिबार





