२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
अर्थ

तिहारमा बिजुली जाँदैन, मागभन्दा धेरै उत्पादन छ: प्राधिकरण

क्याप्शन

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ।

उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक जनशक्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन र व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ। बैठकले सम्भावित चुनौतीको व्यवस्थापन र प्राविधिक तयारीबारे छलफल गरेको हो।

त्यस्तै, प्रणाली सञ्चालन विभाग (एलडिसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी आवश्यक निर्देशन दिइएको छ।

कार्यकारी निर्देशक श्रेष्ठले चाडबाड अवधिभर बिजुली अवरोध हुन नदिन सम्पूर्ण संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्। विद्युत् आपूर्तिमा कतै समस्या देखिए तत्काल मर्मत गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा रहन उनले सचेत गराए।

प्रसारणलाइन तथा वितरण प्रणालीको मर्मतसम्भार तत्काल सम्पन्न गर्न र ‘नो लाइट’ सेवामा आउने फोन नियमित उठाउँदै उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न पनि उनले निर्देशन दिएका छन्।

प्राधिकरणका अनुसार यस वर्ष तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान छ। उक्त माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताए।

सो अवधिमा मुलुकभरको विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण छ। आन्तरिक मागभन्दा उत्पादन झन्डै ८०० मेगावाट बढी हुने भएकाले चाडबाडमा विद्युत् आपूर्ति सहज र पर्याप्त हुने उनले बताए।

पर्वभर माग र आपूर्तिको निगरानी गर्न एलडिसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच चौबीसै घण्टा समन्वय हुनेछ।

यसैबीच, प्राधिकरणले पर्वका समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरेको छ।

घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८३ १८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App