नेपाली कांग्रेस, राष्ट्रिय भेलाका सभापतिज्यू, देशभरीबाट भेलामा पाल्नुभएका प्रतिनिधि साथिहरु, संचारकर्मी मित्रहरु एवं दाजुभाई तथा दिदीबहिनीहरु।
सर्व प्रथम भेलामा सहभागि हुन देशभरबाट आउनु भएका सम्पूर्ण साथिहरुमा हार्दिक स्वागत एवं जय नेपाल!
विगत केही समयदेखि म परिवार सहित स्वास्थ्य उपचारका लागि विदेशमा भएको कुरा तपाईहरुलाई थाहा नै छ । उपचार पछि हिजो मात्र म स्वदेश फर्किएको हुँ । मेरो स्वागतमा हिजो विमानस्थलमा उपस्थित हुनु भएका तपाईहरु लगायत सबैमा यसै भेला मार्फत हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।
अहिले मुलूकको राजनैतिक अवस्था अत्यन्त संवेदनशील देखिएको छ। यो संवेदनशिल अवस्थामा नेपाली कांग्रेसका सम्पूर्ण साथिहरुले बढो सजग भएर राष्ट्रिय एकता कायम गर्न र लोकतन्त्रलाई सुदृढ गर्न भूमिका खेल्नु पर्ने हुन्छ ।
समाजमा अहिले पनि निराश देखिएको छ। उनीहरुको निराश आशामा बदल्नु पर्ने छ । यो दायित्व पनि सबैभन्दा पुरानो र लोकतान्त्रीक पार्टीको नाताले नेपाली कांग्रेसले नै लिनु पर्छ ।
नेपाली कांग्रेसले विगतमा के गर्यो भन्ने प्रश्नको जवाफ खोज्न २००७ साल अघिको राणाकालिन अवस्था, त्यो बेलाको गरिवी र निरंकुता, २०१७ सालपछिको निरंकुश निर्दलिय पञ्चायती व्यवस्था र त्यो बेला नेपाली कांग्रेस र जनअधिकारका पक्षमा लाग्दा नागरिकले भोग्नु परेको समस्या बुझ्न आवश्यक छ ।
हाम्रा अग्रजहरुले ज्यानको आहुति दिएर, वलिदानीपूर्ण सघर्ष गरेर, अनेक दुख, कष्ट र सघर्ष भोगेर, मुलुक अहिलेको अवस्थामा आएको हो ।
हामीले हाम्रो इतिहास विर्सिने हो भने हाम्रो गन्तव्य सहि नहुन सक्छ । इतिहासबाट पाठ सिकेर नै गन्यव्य तय गर्न सके मात्रै सहि बाटो पहिल्याउन सकिन्छ। विगतका ति कठिन राजनीतिक परिवर्तनका कथाहरु समाजले नपढ्ने हो भने हाम्रा पुर्खाहरुको योगदानको अवमुल्यन हुन्छ। म यो भेला मार्फत तपाईहरु सबैलाई नेपालको राजनीतिक इतिहासका कथाहरु टोलटोलमा नयाँ पुस्तासँग पुयाउन अनुरोध पनि गर्न चाहान्छु ।
विगतमा केही पनि भएको थिएन, जे जे भयो सबै खराव भयो भन्ने भाष्य समाजमा फैलाउने हो भने क्षणिक नाफा त कसैलाई होला तर मुलुक झन झन कमजोर हुदै जान्छ । मुलुकले विगतका इतिहासमा गर्व गर्नु पर्छ। त्यो वातावरण बनाउने काम अव नेपाली कांग्रेसकाआम नेता तथा कार्यकर्ताहरुको काधमा आएको छ । २००७ सालको निरंकुश राणा शासन नेपाली कांग्रेसको नेतृत्वमा अन्त्य भएको हो, २०४६ सालको प्रजातन्त्र वहालीको आन्दोलन पनि नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको हो । २०६२–०६३ को जनआन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको हो, २०७२ सालमा नयाँ संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको हो । यिनै परिवर्तनले अहिलेको स्वतन्त्रता, खुला समाज, लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्त भएको हो ।
त्यसैले अहिलेसम्म जे जती राजनीतिक परिवर्तन भएका छन त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ, त्यसमा मलाई गर्व छ। यि परिवर्तनमा अन्य राजनीतिक दलहरुको महत्वपूर्ण भूमिकालाई पनि म सम्मान गर्न चाहान्छु । हरेक राजनीतिक परिवर्तनहरुमा राजनीतिक दलहरुबीच एकता भएका छन्, त्यो नेपालको मौलिक राजनीतिक संस्कार पनि हो ।
त्यसैले विगत खराव थियो भन्ने गलत भाष्य समाजमा जवरजस्त फैलाउन थालिएको छ त्यसलाई चिर्न तपाईहरुले राजनीतिक परिवर्तनका हरेक मोडमा कांग्रेसको भूमिकालाई गर्वका साथ समाजमा छलफल र वहस गर्नु पर्ने समय आएको छ ।हामी पार्टीका एउटै परिवारका सदस्य हौं । व्यक्तिगत आग्रह पूर्वाग्रह भन्दा माथि उठेर पार्टी, लोकतन्त्र र राष्ट्रहीतलाई सर्वोपरि ठानौ ।
मुलूक अहिले राजनीतिक, आर्थिक-सामाजिक तथा धार्मिक-सांस्कृतिक रुपले कठिन परिस्थितीबाट गुज्रीरहेको छ। नेपालको पहिल्यैदेखि चल्दै आएको साझा सास्कृतिक पहिचान, धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई संरक्षण र संवद्धन गर्नु पर्नेछ । त्यसका लागि वर्तमान संविधानको आजसम्मको अभ्यासमा देखिएका केही समस्या र त्यसको कार्यन्वयनमा देखिएका कठिनाईका अनुभवका आधारमा म बृहत्तर राष्ट्रिय सहमति खोजी संविधानप्रदत्त प्रक्रिया र व्यवस्थाका आधारमा निकास दिन पहल गर्नेछु ।
राष्ट्रिय एवं लोकतन्त्रिक शक्तिहरुबीच बृहत संवाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्न म दृढ संकल्पित छु ।
मुलुकको यो विषम परिस्थितीमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएका सवै राष्ट्रिय राजनैतिक शक्ति र व्यक्तिसँग सहकार्यको ढोका खुल्ला रहनुपर्छ भन्ने मेरो विश्वास छ ।
आज महामानव बीपी कोइरालाले देखाउनु भएको राष्ट्रिय एकता र मेलमिलापको मार्ग अझ बढी सान्दर्भिक भएको छ । संकटकासमयमा संवाद, सहमति र सहकार्य नै हाम्रो राजनीतिक संस्कार बन्नु पर्दछ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता मेरो जीवनका मूल आर्दश हुन। यी मूल्य मान्यताप्रति म जीवनको अन्तिम क्षणसम्म अटल रहने छु।
अव हामीले व्यक्तिगत मतभेद भन्दा पार्टीको सम्पूर्ण एकता, राष्ट्रहित र दीर्घकालिन लोकतान्त्रिक यात्रालाई प्राथमिकता दिनुपर्दछ । यतिवेला नेपालका विभिन्न भू–भागमा भारी वर्षका कारण बाढी पहिरो र डुवान भईरहेको छ। उक्त विपत्तीबाट केहीको ज्यान समेत गएको छ। धेरै घर परिवार र व्यक्तिहरु प्रभावित भएर दयनीय अवस्थामा जीवन गुजारा गरिरहेका छन्। बाढि र पहिरोमा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु । साथै घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दछु । बाढि पहिरोका कारण समस्यामा परेकाहरुको तत्काल उद्धार, राहत र उचीत पुर्नवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दै विपद् प्रभावित क्षेत्रमा हाम्रो पार्टीको स्थानीय सम्बन्धित तहवाट पहिले झैं उनीहरुको सेवामा जुट्न सवै साथीहरुलाई हार्दिक अपील गर्दछु ।अन्ततः यो राष्ट्रिय भेलाले नेपाली कांगेस भित्र विश्वासको वातावरण निर्माण होस, संवाद, सहकार्य बढोस र पार्टी फेरी एकतावद्ध भएर मुलुकको लोकतान्त्रिक पद्दतीको रक्षा गर्दै समृद्धीको यात्राको सफल नेतृत्व गर्न सकोस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यबाद । जय नेपाल ।
शेर बहादुर देउवा
२०८३ साउन २८ गते
प्रकाशित: २९ श्रावण २०८३ २०:३५ शुक्रबार


-600x400.jpg)


