नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले संगठनात्मक गतिविधिलाई थप सशक्त बनाउने तयारीस्वरूप सम्पर्क कार्यालय स्थापना गर्ने र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। शुक्रबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको समूहका शीर्ष नेताहरूको बैठकले समूहगत गतिविधिलाई तीब्र बनाउने निर्णय गरेको हो।
बैठकले काठमाडौंको महाराजगन्जमा स्थापना गरिएको समूहको सम्पर्क कार्यालय आगामी असार २२ गते औपचारिक रूपमा उद्घाटन गर्ने निर्णय गरेको छ। उक्त कार्यालयलाई आगामी १५औँ महाधिवेशन लक्षित गतिविधिको केन्द्र बनाउने तयारी गरिएको बताइएको छ।
नेता डा. प्रकाशशरण महतका अनुसार महाराजगन्जमा कार्यालयका लागि भवन भाडामा लिइसकिएको छ र अहिले रंगरोगन तथा अन्य व्यवस्थापनको अन्तिम तयारी भइरहेको छ। उनले कार्यालय उद्घाटनपछि सोही स्थानमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने जानकारी दिए।

देउवा समूहले यसअघि नै देशका सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। अब पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, आगामी महाधिवेशनको रणनीति तथा संगठन विस्तारलाई केन्द्रमा राखेर राष्ट्रिय भेला बोलाउने तयारी गरिएको जनाइएको छ। यद्यपि भेलाको निश्चित मिति भने अहिलेसम्म तय गरिएको छैन।
शुक्रबारको बैठकमा कांग्रेसभित्र प्रभावशाली मानिने नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला, गृहमन्त्री रमेश लेखक, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुंगाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत लगायत नेता सहभागी भएका थिए।
नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर विभिन्न समूहबीच आन्तरिक तयारी तीव्र भइरहेका बेला देउवा समूहले सम्पर्क कार्यालय स्थापना र राष्ट्रिय भेलाको तयारी थालेपछि पार्टीभित्रको राजनीतिक गतिविधि अझ सक्रिय हुने संकेत देखिएको छ।
प्रकाशित: १९ असार २०८३ १९:३० शुक्रबार





