नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्। उनी बुधबार राति पौने १२ बजे सिंगापुर एयरलान्सको उडानबाट गएको देउवानिकट स्रोतले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन आउन मात्र एक साता मात्र बाँकी रहँदा देउवा सिंगापुर उडेका हुन्। नेपाली कांग्रेस सुदूरपश्चिमका एक पदाधिकारीका अनुसार उनी उच्च रक्तचापको समस्या देखिएपछि उपचारका लागि गएका हुन्।
विशेष महाधिवेशनबाट सभापति पद गुमेपछि र निर्वाचन आयोगले आधिकारिकता नदिएको र सर्वोच्च अदालतबाट पनि अन्तरिम आदेश नपाएपछि देउवा निराश बनेका थिए।
यता, चुनावको मुखमै आउँदा देउवाको भौतिक उपस्थिति, त्यो पनि नभए उनको बोलीको समेत खोजी भइरहेको छ। उनको गृहजिल्ला डडेलधुरामा मात्र होइन, सिंगो सुदूरपश्चिमका नौ जिल्लामा। तर देउवा निकट सुदूरपश्चिमका नेताहरूका भनाइ अनुसार बिहीबार बिहानसम्म देउवा सुदूरपश्चिम जाने सेडुल बनेको छैन।
२०७९ को निर्वाचनमा सुदूरपश्चिमका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रमध्ये ८ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो भने अन्य ८ निर्वाचन क्षेत्रमा अन्य पार्टीहरू विजयी भएका थिए। यस हिसाबले हेर्दा सुदूरपश्चिम नेपाली कांग्रेसको गढ भएको मानिन्छ। तर यसपटक देउवा नखुल्दा अथवा देउवाको बोली नसुन्दा सुदूरपश्चिम क्षेत्रका तल्लो तहका मतदाता तथा तल्लो तहका नेपाली कांग्रेसका समर्थकहरू अलमलमा परेको देखिन्छ। उनीहरूलाई स्थानीय नेताहरूले सम्झाउने काम गरिरहेका छन्। कांग्रेसका उम्मेदवारहरू देउवाको नाममा भोट मागिरहेका छन्।
प्रकाशित: १४ फाल्गुन २०८२ ०९:११ बिहीबार





