नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेन–जी आन्दोलनपछिको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै विधानले तोकेको समयमा १५ औँ महाधिवेशन हुनेमा विश्वास व्यक्त गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिए। अब उनी स्वास्थ्यका कारण बैठकमा बस्न नसक्ने बताइएको छ।
त्यसपछि बैठकसँग अपेक्षा राख्दै देउवाले देशलाई उचित निकास निकाल्न आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे। ‘हाम्रो पार्टीको यो बैठक समसामयिक अवस्थाको ठोस विश्लेषण गरी देशलाई उचित निकास दिने गरी आवश्यक निर्णय गर्ने नै छ भन्ने मेरो विश्वास छ,’ देउवाले भने, ‘नेपाली कांग्रेसले आफूलाई एकताबद्ध बनाएर देश सामु उपस्थित चुनौतीको सामना गर्नु छ।’
यस्तै उनले राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धतिमाथि गम्भीर संकटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको टिप्पणी गरेका छन्।
‘यसलाई ध्यानमा राखी हाम्रो पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ,’ देउवाले भने। देशमा विद्यमान राजनीतिक परिस्थितिको मुल्यांकन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलहरूसँग पनि वार्ता संवादको आवश्यकता रहेको औँल्याए।
‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु। उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ,’ देउवाले भने।
प्रकाशित: २८ आश्विन २०८२ १५:०४ मंगलबार





