नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र पनि लोकतन्त्र र सुशासन चाहिने बताएका छन्। सोमबार विराटनगरमा आयोजित सन्देश सभामा नेता श्रेष्ठले यस्तो बताएका हुन्।
श्रेष्ठले पार्टीभित्र सुशासन र लोकतन्त्र स्थापना गर्न नसके बाहिर मात्रै सुशासन र लोकतन्त्र भएर केही नहुने भनाइ राखेका छन्। उनले भने, ‘पार्टीभित्र पनि सुशासन र लोकतन्त्र स्थापना गर्न नसके बाहिर मात्रै सुशासन र लोकतन्त्र भएर हुँदैन।’
उनले नेताहरूले आफूलाई बदल्न आवश्यक रहेको बताए। उनले पार्टी जुन उद्देश्यले एकीकरण गरिएको हो त्यस उद्देश्य पूरा गर्न लागिपर्ने संकल्प गर्न देशैभर सभा आयोजना गरिएको धारणा राखे।
राष्ट्रिय एकता कायम गर्न पार्टी एकता गरिएको उनको दाबी छ। सामाजिक आर्थिक रुपान्तरण र समृद्धिको खाका तय गर्नु पार्टीको पहिलो काम भएको उनको भनाइ छ। जनतासामु आत्मालोचना गर्नु पनि संकल्प सभाको उद्देश्य रहेको उनले बताए।
सुशासन, समृद्धि र सामाजिक न्यायका लागि काम गर्दा कांग्रेस, एमालेले सरकारबाट हटाएको दाबी गर्दै उनले जेनजीको मुद्दा पूरा गर्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखे। देशको सामु निर्वाचन अगाडि रहेकाले राष्ट्रियता माथिको खतरालाई कम गर्न निर्वाचन आवश्यक रहेको उनको भनाइ छ। यसैगरी, आफूलाई रुपान्तरण गर्नु पनि आवश्यक रहेको उनले भनाइ राखे।
प्रकाशित: १५ मंसिर २०८२ १६:०६ सोमबार





