२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग

गुण्डागर्दी सैह्य नहुने एमाले ताप्लेजुङको चेतावनी

नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले गुण्डागर्दी सैह्य नहुने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य भट्टराईले गृहमन्त्री रमेश लेखकलाई पत्र लेख्दै आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार गरी कानुनी कारवाही गर्न माग गरेका छन् ।  

उनले आम सर्वसाधारणको शान्ति सुरक्षा माथि खलल पार्ने अराजक गतिविधि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनको ध्यानाकर्षण गरेका छन् ।  

अज्ञात समूहको आक्रमणबाट घाइते वडाध्यक्ष टेकेन्द्र सेन्दाङको उपचारको प्रवन्ध मिलाउन पनि उनले माग गरेका छन् ।  

सांसद भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी दुवैलाई बोधार्थ दिएका छन् । यता नेकपा एमाले ताप्लेजुङले आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले ताप्लेजुङका सदस्य तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका वडाध्यक्ष सेन्दाङ माथिको सांघातिक आक्रमणलाई अपारधिक गतिविधिको संज्ञा दिएको छ ।  

एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमूले विज्ञप्ति जारी गर्दै यो आक्रमणमा संलग्नलाई प्रशासनले कारवाही नगरे शान्ति सुव्यवस्था कायम गर्न र गुण्डागर्दी र आतंकित अवस्था नियन्त्रण गर्न प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् ।  

नेकपा एमाले ताप्लेजुङ अन्तर्गत फुङलिङ नगर कमिटी, फक्ताङलुङ गाउँपालिका कमिटी, पाथीभरा याङवरक गाउँपालिका कमिटी, आठराई त्रिबेणी गाउँपालिका कमिटी, मिक्वाखोला गाउँपालिका कमिटी, मैवाखोला गाउँपालिका कमिटी, मेरिङदेन गाउँपालिका कमिटी, सिरिजङ्गा गाउँपालिका कमिटी र सिदिङ्वा गाउँपालिका कमिटीलेसमेत सेन्दाङ माथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कानुनी कारवाहीको माग गरेका छन् ।  

यस्तै अध्यक्ष रनमाया गुरुङद्धारा जारी अखिल नेपाल महिला संघ, अध्यक्ष मानिक तुम्बाहाम्फेद्वारा जारी राष्ट्रिय युवा संघ नेपालसहितका जनवर्गीय संगठनले समेत सेन्दाङ माथि भएको सांघातिक आक्रमणप्रति खेद व्यक्त गर्दै अराजक गतविधिविरुद्ध आफुहरु जस्तोसुकै कदम उठाउन पनि तयार रहेको दावी गरेका छन् ।  

जिल्ला कमिटीको बैठक सकेर घर फर्कनै लाग्दा तोक्मेडाँडा क्षेत्रमा सुनयोजित तरिकाले एमाले जिल्ला सदस्य तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका वडाध्यक्ष सेन्दाङ र एमाले जिल्ला सदस्य मनकुमार तेङबुङमाथि ५–७ जनाको समूहले सांघातिक आक्रमण गरेको एमाले ताप्लेजुङको दावी छ ।  

यो घटनामा घाइते भएका सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार हुन नसकी झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको एमाले ताप्लेजुङले जनाएको छ ।  

 

प्रकाशित: ८ भाद्र २०८२ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App