नेपाली कांग्रेसको १५औं महाधिवेशन मंसिरभित्र गर्न नसके विशेष महाधिवेशन बोलाउनुपर्ने मागसहित केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाइएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुधबार दिउँसो केन्द्रीय कार्यालयमा नियमित नभए मंसिरमा विशेष महाधिवेशन बोलाउनुपर्ने मागसहितको हस्ताक्षर बुझाइएको हो । देउवाले मंगलबार स्वास्थ्यको कारण देखाउँदै खड्कालाई कार्यवाहक अध्यक्ष दिने घोषणा गरेका थिए । फेरिएको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा हस्ताक्षर अभियान चलाएका नेताहरू आन्तरिक छलफलमा छन् ।
कांग्रेस विधानमा केन्द्रीय समितिले चाहेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
तर त्यसरी बोलाइएको विशेष महाधिवेशनमा जुन विषय वा कारणका लागि हो त्यसमा मात्र छलफल हुने विधानमा व्यवस्था छ । बिहीबार बस्नेगरी मंगलबार स्थगित केन्द्रीय समितिको बैठकमा १५औं महाधिवेशनको कार्यतालिका, फेरिएको राजनीतिक अवस्थासहितका विषयमा छलफल हुनेछ ।
प्रकाशित: २९ आश्विन २०८२ २१:२४ बुधबार





