३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेका पराजित उम्मेदवारद्वारा रास्वपाका दुई सांसदविरूद्ध रिट दायर

शपथ ग्रहण रोक्न अन्तरिम आदेशको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई नवनिर्वाचित सांसदविरुद्ध उम्मेदवारी अयोग्य रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। सिन्धुली क्षेत्र नम्बर–१ बाट विजयी धनेन्द्र कार्की र उदयपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध नेकपा (एमाले) का उम्मेदवारहरूले मंगलबार रिट दर्ता गराएका हुन्।

सिन्धुली–१ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर–२ का एमाले उम्मेदवार अम्बरबहादुर रायमाझीले निर्वाचन आयोगको निर्णय बदर गर्दै आफूहरूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्। उनीहरूले वारेस युवराज पौडेलमार्फत सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटमा कार्की र तामाङ उम्मेदवारी दर्ता गर्ने समयमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको दाबी गरिएको छ। कालोसूचीमा रहेका व्यक्तिहरू निर्वाचनमा उम्मेदवार बन्न अयोग्य हुने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उनीहरूको उम्मेदवारी नै अवैध भएको निवेदनमा जिकिर गरिएको छ।

निवेदकहरूले निर्वाचन आयोगले गरेको विजय घोषणा र प्रदान गरिएको प्रमाणपत्रसमेत बदर गर्न माग गरेका छन्। साथै नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण रोक्न अन्तरिम आदेश जारी गर्न पनि सर्वोच्च अदालतसँग आग्रह गरिएको छ।

रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले चैत २५ गतेलाई पेसी तोकेको छ। यता निर्वाचन आयोगले भने पर्सि बिहीबार विजयी उम्मेदवारहरूको औपचारिक घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित: ३ चैत्र २०८२ १८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App