नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले सडकमा केही हजार मानिस उत्रिएकै भरमा सांसदहरूले राजीनामा दिँदा भोलि आफ्नै मतदातामाझ जवाफ दिन नसक्ने अवस्था आउने चिन्ता व्यक्त गरेका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खड्काले जेन-जी आन्दोलनतर्फ संकेत गर्दै भने, ‘८-१० हजार मान्छे सडकमा आउने बित्तिकै तिमीहरूले सत्ता छोड्यौ, सांसद पद छोड्यौ भनेर भोलि हाम्रै मतदाताले हामीलाई प्रश्न गर्लान् नि।’
उनले सांसदहरूले पाएको जनमतको सम्मान गर्नुपर्नेमा जोड दिँदै निर्वाचनमा हजारौँ नागरिकले दिएको मतलाई सडकमा उत्रिएका सीमित समूहको मागले विस्थापित गर्न नसक्ने तर्क गरे।
‘एउटै सांसदले हामीले ३५-४५ हजार मत पाएका छौँ, बाँकी मतको के त ? भोलि भोट माग्न जाँदा ‘तिमीहरूले आफ्नो अधिकार पनि खोज्न सकेनौं ?’ भन्ने प्रश्न त आउला नि,’ उनले भने।
साथै, उनले हालको सरकारको वैधानिकतामाथि पनि प्रश्न उठाउँदै तोकिएको मितिमा निर्वाचन हुनेमा समेत गहिरो आशंका प्रकट गरे।
नेता खड्काले नेपाली कांग्रेसले आधिकारिक रूपमै वर्तमान सरकारलाई ‘अवैधानिक’ भनिसकेको र आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुने सम्भावना नरहेको निष्कर्ष निकालिसकेको सुनाए।
‘पार्टीले नै यो सरकार वैधानिक छैन र तोकिएको समयमा निर्वाचन हुन सक्दैन भनिसकेपछि अब देशको राजनीतिक परिस्थिति के हुन्छ भन्ने अन्योल छ,’ उनले भने।
यस्तो अनिश्चितताको अवस्थामा देशको निर्वाचनभन्दा पार्टीको आन्तरिक महाधिवेशनमा जानु उपयुक्त हुने आफ्नो सुझाव रहेको उनले सुनाए।
‘हामीले निर्वाचन त एक हिसाबले छोड्यौँ नि त। अब अर्को निर्वाचनको मिति तय भएको छैन,’ खड्काले थपे, ‘त्यसैले आन्तरिक रूपमा केही नेताहरू बसेर छलफल गरी पार्टीको महाधिवेशनको मिति तोक्नु उपयुक्त हुन्छ।’
कानुनी राज्यमा विश्वास गर्ने दल भएकाले अदालतको निर्णय कुर्नुपर्ने तर सांसदहरूले आफ्नो अधिकार खोज्नु पनि स्वाभाविक भएको उनको भनाइ थियो।
प्रकाशित: २६ कार्तिक २०८२ १५:०८ बुधबार





