कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे नेकपा (एमाले) भित्रको छलफल निर्णायक चरणमा पुगेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशका पदाधिकारीसँग छलफल गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छुट्टै भेटवार्ता गरेका छन्।
पार्टी अध्यक्ष घनश्याम खतिवडासहित प्रदेश पदाधिकारीले गुण्डुस्थित ओली निवासमा कोशी प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकार गठनसम्बन्धी विवादबारे जानकारी गराएका थिए। स्रोतका अनुसार छलफलमा वर्तमान परिस्थितिअनुसार सरकारको नेतृत्व परिवर्तन आवश्यक हुन सक्ने विषय उठाइएको थियो।
प्रदेश पदाधिकारीसँगको छलफल सकिएलगत्तै मुख्यमन्त्री कार्की ओलीसँग एक्लै छलफलका लागि पुगेका छन्। उक्त भेटपछि कार्कीले राजीनामा दिने वा नदिने विषयमा स्पष्टता आउने अपेक्षा गरिएको छ।
कोशी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार रहने सहमति भए पनि मुख्यमन्त्रीको विषयमा पार्टीभित्र मतभेद देखिएको छ। ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको स्थानमा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई नेतृत्वमा ल्याउन चाहेको चर्चा छ।
तर संविधानको धारा १६८(५) अन्तर्गत नियुक्त भएका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने अडान लिएपछि सरकार पुनर्गठन प्रक्रिया अन्योलमा परेको छ। एमाले नेतृत्वले अब कार्कीसँगको छलफलपछि आवश्यक निर्णय लिने तयारी गरेको बताइएको छ।
प्रकाशित: १९ श्रावण २०८३ १७:३४ मंगलबार





