नेकपा एकीकृत समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सिमाना लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय स्वीकार्य नहुने बताएका छन् ।
पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नं ७ले आयोजना गरेको अन्तक्रियामा नेता नेपालले दुई देशबीचको व्यापारिक प्रयोजनका लागि गरिएको सम्झौताले मुलुकको राष्ट्रियतामाथि आँच आएको बताए । त्यस्तो गतिविधि हुन नदिन सरकारले कूटनीतिक माध्यमबाट पहलकदमी लिनुपर्ने नेपालको सुझाव छ ।
सरकारले विगतमा पठाएको कूटनीतिक नोटले यस्तो सम्झौता रोकिएको बताउँदै उनले महाकाली सम्झौतामा काली नदीलाई सीमा मानिएकाले त्यसलाई अवरोध गर्नेगरी भएका हस्तक्षेपको कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने बताए ।
नेता नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) सम्झौता पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गरिएकाले त्यो राष्ट्रियताको भावनाविपरीत कार्यान्वयन हुन नसक्ने बताए ।
देशमा कम्युनिष्ट आन्दोलनमा उतारचढाव आएकाले कम्युनिष्ट नेतृत्वको सरकारले पनि जनताको पक्षमा काम गर्न नसकेको बताउँदै उनले अहिले उनीहरू असन्तुष्ट रहेकाले वामपन्थी शक्तिलाई गोलबद्ध गर्ने प्रयास भइरहेको बताए ।
प्रकाशित: १३ भाद्र २०८२ २१:३८ शुक्रबार





