१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

जुम्लामा पाँच उम्मेदवारबिच कडा प्रतिस्पर्धा

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र भएको जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेमकिपा र प्रगतिशील लोकतान्त्रिक पार्टीसहित ९ राजनैतिक दल र एक जना स्वतन्त्र व्यक्तिले जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

जुम्लामा पाँच उम्मेदवारको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। नेपाली कांग्रेसका तर्फबाट पूर्वजिल्ला सभापति दिपबहादुर शाही, नेकपा एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत, नेपाली कम्युनिष्ट पार्टीबाट संविधानसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, राप्रपाका प्रवक्ता तथा विगठित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाही र रास्वपाका केन्द्रीय नेतृ तथा विगठीत प्रतिनिधिसभा सांसद विनिता कठायतको उम्मेदवारी परेको छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीको तर्फबाट बिर्खबहादुर रावत, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का तर्फबाट बिर्खबहादुर शाही, जनमत पार्टीका तर्फबाट रनिल बिक्रम शाहीले उम्मेदवारी दिएका छन्। यसैगरी भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस पटकको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फका उम्मेदवार नरेश भण्डारी, नेपाली कांग्रेसका उम्मेदवार दिपबहादुर शाही, नेकपा एमालेका तर्फका उम्मेदवार शान्तिलाल महत, राप्रपाका ज्ञानबहादुर शाहीबिच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ, भने रास्वपाका विनिता कठायत पनि प्रतिस्पर्धीका रूपमा देखिने सम्भावना छ।

यति मात्र होइन जुम्ला देशको धेरै चर्चित स्थान मध्यमा एक पर्दछ। झापा–५, चितवन-३, रुकुम पश्चिम, सर्लाही-४ सहितका क्षेत्रमा जसरी चुनावी चर्चा चलिरहेको छ, त्यसैगरी यस पटक एउटा मात्रै निर्वाचन क्षेत्र भएको जुम्लामा निर्वाचन निकै रोचक बन्ने भएको हो। रोचक के छ भने गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन मैदानमा रहँदा मुख्यगरी नेपाली कांग्रेससहित दलको आन्तरिक झगडाका कारणले मतदाता ढल्किएका थिए। जसका कारण चुनावी परिणाम राप्रपाका ज्ञानबहादुर शाहीको हातमा पर्यो। शाहीको उम्मेदवारी यस पटक पनि जुम्लामा परेको छ।

यस पटक जुम्लामा अर्को रोचक पक्ष भने जुम्ला विकासका आर्किटेक्चर मानिने भिजनरी नेता नरेश भण्डारीको उम्मेदवारीले तरंग छाएको छ। पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको धरोहर मानिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, जुम्ला उज्यालो गरिरहेको ९ सय ९८ वाटको चुकेनी जलविद्युत परियोजना, निर्माणाधीन हजारौं खानेपानी धाराको बृहत धौलीगाड खानेपानी आयोजनाका परिकल्पनाकार तथा पहलकर्ता समेत रहेका भण्डारी अहिले जुम्लाका लागि प्रमुख प्रतिस्पर्धी देखिन्छन्।

संविधानसभा सदस्य समेत रहेका भण्डारीले यस पटक निर्वाचन जसरी पनि नेकपाले जित्ने दाबी गर्दै छन्। उनले विगतका विकासका ठोस काम र सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक, जुम्लाको तिला गाउँपालिकामा ३२ मेघावाटको बिजुली, कर्णालीमा मानव विकास सूचांक, भूगोल, दुर्गमता र विकासको आधारमा कानुन निर्माण गरी बजेटको सुनिश्चितता गर्ने पहलसहितका एजेण्डा अगाडि सारेका छन्। भण्डारीले विगतका आधा दर्जन काम अधुरा पूरा गर्ने बताउँदै चुनावी मैदानमा उत्रिएका छन्।

जुम्लामा नेपाली कम्युनिष्ट पार्टी पछि समाजवादी पनि एकता भएपछि सांगठनिक रूपमा पहिलो पार्टी भएको नेकपाले दाबी गर्दै आएको छ। नेकपा जुम्लाले एक हजार नौ सय ९९ समितिको प्रचार समिति पनि खटाएको छ। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा आफू जित्ने दाउमा प्रचार तीव्र बनाएको छ। अघिल्लो पटक कांग्रेसले उम्मेदवार नपाएको अवस्थामा यस पटक आफ्नो उम्मेदवार पाएको छ।

नेपाली कांग्रेस जुम्लाका पूर्वजिल्ला सभापति दिपबहादुर शाहीलाई कांग्रेसले प्रतिनिधि सभाको टिकट दिएको छ। २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनमा कांग्रेसको प्रतिनिधिसभा उम्मेदवार भएन। तर प्रदेश (क) मा पनि आन्तरिक झगडाले चरम रूप लिएपछि कांग्रेसभित्रकै देवेन्द्रबहादुर शाहीले निर्वाचन जितेका थिए। कांग्रेसले त्यस बेला गठबन्धनले प्रदेश सभापति ललितजंग शाहीलाई प्रदेश क्षेत्र (क) मा टिकट दियो, तर कांग्रेसका प्रभावशाली नेता देवेन्द्रबहादुर शाही स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए।

हाल भने मेलमिलाप भएर प्रदेश सदस्य देवेन्द्र फिर्ता भएपछि ललितजंग शाहीलाई राष्ट्रिय सभाको मतदान गरेर अंकमाल गरेको तस्बिरले मेलमिलापको संकेत दिएको छ। यसमा पनि दिपबहादुर शाही सांगठनिक रूपमा जुम्ला कांग्रेसभित्रका बलिया नेता मानिन्छन्।

राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले पनि चुनावी अभियान तीव्र रूपमा अगाडि बढाएको देखिन्छ। २०७९ सालको निर्वाचनमा निर्वाचन जित हासिल गरेपछि अहिले पनि चुनाव जित्ने दाउमा उनी छन्। तर सांसद जितेपछि जनताका विकासका वाचा खासै पूरा नभएको गुनासो पनि उत्तिकै छ। एक चरणमा पूर्वराजा ज्ञानेन्द्र शाह र अर्को चरणमा हिमानी शाह र उनका छोरा हृदयन्द्र जुम्ला ल्याएर चर्चा छाएका ज्ञानबहादुर शाहीले पूर्वराजपरिवारको शक्ति प्रदर्शन जुम्लामा समेत गरेका थिए। अहिले भने चुनावी मैदानमा आएपछि आफ्नो खासै एजेण्डा नभएको र पछि काम गर्ने बताएका छन्।

यता नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत पनि चुनावी मैदानमा छन्। नेकपा एमाले जुम्लाले महतको चुनावी प्रचार तीव्र बनाएको छ। घरदैलो तथा प्रचार कार्यक्रमलाई तीव्र बनाएका महतले नेकपा एमाले फागुन २१ को निर्वाचन जित्ने दाबी गरिरहेका छन्। यता रास्वपाका उम्मेदवार तथा विगठित संसदकी सदस्य विनिता कठायतले पनि चुनावी प्रचार तीव्र बनाएकी छिन्। उनले यस पटकको निर्वाचनमा रास्वपाको माहोल राम्रो भएकाले आफू बलियो उम्मेदवार भएको दाबी गरेकी छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने एक मात्र महिला उम्मेदवार पनि उनी नै हुन्। जुम्लाले हालसम्मको इतिहासमा संघीय सांसद दोहोर्याएको छैन। तर नरेश भण्डारी यो भाष्यलाई तोड्दै आफू निर्वाचन जसरी पनि जित्ने दाबी गर्दै छन्। स्थानीयवासीहरूका अनुसार यस पटक जुम्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ। हाल जिल्ला निर्वाचन कार्यालयका अनुसार जुम्लामा ७१ हजार ७ सय ३९ मतदाता रहेका छन्। जसमा ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ पुरुष मतदाता छन्।

यसअघि २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। हालको तथ्यांकसँग तुलना गर्दा ३ हजार १ सय १ जना नयाँ मतदाता थपिएको देखिन्छ। नयाँ मतदातामध्ये १ हजार ७ सय ५९ पुरुष र १ हजार ३ सय ४२ महिला रहेका छन्।

२०७९ काे संघीय निर्वाचनकाे मत परिणाम हेर्दा जुम्लामा प्रत्यक्षतर्फ राप्रपाका ज्ञानेन्द्र बहादुर (ज्ञानेन्द्र )शाहीले २२ हजार ८ सय १९ मत, यस्तै तत्कालीन माओवादी केन्द्र पार्टीका गाेमा गाैतम (कुँवर) ले ११ हजार ९ सय ५९, माओवादी, कांग्रेस र समाजवादीकाे गठबन्धन थियो। नेकपा एमाले रतननाथ याेगीले ६ हजार ५ सय २९, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९ सय ५५ र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर राेकायाले ५ सय ४५ मत प्राप्त गरेका थिए।

यस्तै समानुपातिकतर्फ एमाले १० हजार ५ सय ४८, नेपाली कांग्रेस १० हजार ४ सय ७६, माओवादी ८ हजार ९ सय ६०, राप्रपा ५ हजार ७ सय ९६, एकीकृत समाजवादी २ हजार ६ सय ४८, नेमकिपा २ हजार ७३ र रास्वपाले ८ सय ९९ मत छ।

यता जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलका अनुसार जुम्लामा ७१ हजार ७ सय ३९ जना मतदाता रहेका छन्। जसमा ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ जना पुरुष मतदाता रहेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App