१४ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

शशांकको आशंका- बालेन प्रधानमन्त्री बन्नुमा रअ, चीन र अमेरिकाको पनि हात छ कि ?

‘प्रधानमन्त्रीमाथि ठूलो प्रश्नचिह्न छ’

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान प्रधानमन्त्री बालेन शाहको उदय र सत्ता आरोहणमाथि प्रश्न उठाएका छन्।

उनले त्यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको चलखेल हुन सक्ने आशंका व्यक्त गरे। चुनावमा जनताको मत मात्र निर्णायक नहुने जिकिर गर्दै उनले सुरक्षा निकायदेखि विदेशी गुप्तचर निकायहरूको भूमिकामाथि शङ्का व्यक्त गरेका हुन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै डा. कोइरालाले भने, ‘अहिलेको प्रधानमन्त्री कसरी प्रधानमन्त्री भए ? कहिले तपाईंले उसको पृष्ठभूमि हेर्नुभएको छ ?’ कोइरालाले भने, ‘कसरी प्रधानमन्त्री भए र कुन-कुन शक्तिले उनलाई सहयोग गरे ? हामी त बीपीको सन्तान, लोकतन्त्रमा विश्वास राख्ने मान्छे हौं।’

‘हामीले त जनताको मत र शक्ति मात्रै देख्यौँ, हजुरले के-के देख्नुभयो ?’ भनी प्रतिप्रश्न गर्दा डा. कोइरालाले नेपालको राजनीतिमा बाह्य हस्तक्षेपको लामो फेहरिस्त सुनाए।

‘चुनाव एकदम सिम्पल। साँच्चिकै जनताले भोट हालेपछि मात्रै यस्तो हुन्छ कि त्यहाँ अरू शक्तिहरू पनि प्रभावित हुन्छन् ?’ कोइरालाले प्रश्न गरे, ‘पुलिस, आर्मी, इन्टरनेसनल फोर्सेस, भारतीय गुप्तचर संस्था ‘रअ’, चाइनिज र अमेरिकनहरू के यहाँको राजनीतिमा चुपचाप लागेर बस्छन् ? उनीहरूको दखलअन्दाजी हुँदैन ?’

उनले अगाडि भने, ‘साँच्चिकैको राष्ट्रिय व्यक्ति हो भने उसले कसैलाई नसोचेर आफ्नै दिमागले काम गर्छ, त्यो नै राष्ट्रवादी व्यक्ति हो। त्यसैले आजको प्रधानमन्त्रीमाथि प्रश्नचिह्न छ।’

नेपालको सत्ता संघर्ष र राजनीतिक निर्णयहरूमा बाह्य शक्तिहरूको स्वार्थ गाँसिने गरेको कोइरालाको दाबी छ। ‘सबै नभने पनि केही हदसम्म चलखेल हुन्छ। आर्थिक चलखेल हुन्छ र त्यहाँ ‘गिभ एन्ड टेक’ हुन्छ,’ उनले भने, ‘पोलिटिकल निर्णय गर्दा बाह्य शक्तिहरूको के-के स्वार्थ छ, त्यो पूरा गरिदिनुपर्ने अवस्था आउँछ।’

विगतमा कांग्रेस सरकारमा हुँदा पनि यस्ता प्रश्नचिह्न उठ्ने गरेको उनले स्वीकार गरे।

प्रधानमन्त्रीका रूपमा ६ महिना मात्र बितेकाले अहिल्यै पूर्ण मूल्याङ्कन गर्ने बेला नभएको कोइरालाको भनाइ छ। ‘अझै एक-डेढ वर्ष काम हेरेपछि मात्र भन्न सकिन्छ, अहिले त ठीकै काम गरेका छन्, कुनै नराम्रो काम गरेका छैनन्,’ उनले भने।

तर पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति भने उनले आपत्ति जनाए। ‘चोलेन्द्रलाई त्यो अपमान गरिएको हो। राति १२-१ बजेतिर समातेर ल्याउनु अपमानजनक हो,’ कोइरालाले भने, ‘महाभियोग लगाउनु छुट्टै विषय हो, तर त्यसरी मध्यरातमा पक्राउ गरेर अन्याय र अपमान गर्नुहुँदैनथ्यो।’

प्रकाशित: १४ आश्विन २०८३ २१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App