२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपामा समाहितको निर्णयले विवेकशीलमा फुट, केही नेता विपक्षमा

विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच आज (आइतबार) औपचारिक रूपमा पार्टी एकीकरण हुँदैछ। वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरण गरी मुलुकमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ यो एकीकरण हुन लागेको विवेकशील साझा पार्टीले जनाएको छ।

विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शनाले पार्टीको केन्द्रीय समितिले सर्वसम्मतिबाट एकीकरणको निर्णय गरेकाले यो नै अन्तिम निर्णय भएको बताएका छन्।

अध्यक्ष बास्कोटाले एकीकरणमा कुनै व्यक्तिगत पद वा स्वार्थ नभएको र यसको मूल जोड वैकल्पिक राजनीतिको लिगेसीलाई दस्तावेजीकरण गर्नु र बलियो शक्ति निर्माण गर्नु रहेको बताएकी छन्। उनले एकीकृत दल आगामी निर्वाचनमा केन्द्रित हुने र पार्टी एकीकरणपछि पुरानो दलीय भागबण्डा तोड्ने प्रयास गर्ने बताइन‍्। ‘आजको आवश्यकता नै वैकल्पिक शक्तिहरूको ध्रुवीकरण हो। विवेकशील साझाको १२ वर्षको लिगेसी दस्तावेजीकरण हुनुपर्छ भन्ने हाम्रो प्रमुख उद्देश्य हो,’ अध्यक्ष बास्कोटाले भनिन्। उनले एकीकरणपछि बनेको शक्तिले पुरानो दलीय भागबण्डालाई तोड्ने र डेलिभरी दिने विश्वास व्यक्त गरिन्।

यस्तै, महासचिव दर्शनाले एकीकरणलाई सकारात्मक रूपमा लिएको बताएकी छन्। ‘पार्टीको नै एकता हो, पार्टीले अफिसियल्ली नै निर्णय गरेर गइराखेको भएर यो सबै जनाले पास गरेको निर्णय हो,’ उनले नागरिकन्युजसँग भनिन्, 'यति लामो समयदेखि हामी पार्टीबाट उदय भएको हो। इमोसनल्ली पनि डिफिकल्ट हुने कुरा त भइहाल्यो तर यो मेजरिटीले नै ओके भनेर हामीहरूले आफ्नो संगठनलाई बलियो बनाउन र आफ्नो अभियानलाई बलियो बनाउनुपर्छ भन्ने  बुझेर नै यो निर्णयसम्म पुगेका हौँ।'

पार्टीको केन्द्रीय समितिले एकीकरणको निर्णय गरे पनि केही केन्द्रीय सदस्यहरू भने यस प्रक्रियामा सहभागी नहुने भएका छन्। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेले आफू राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकीकरणमा सहभागी नहुने बताए। उनले नयाँ एकीकरणलाई समर्थन वा विरोध नगर्ने भन्दै आफू तटस्थ रहने उनको भनाइ छ। 

विगतका एकीकरणहरू बलियो जगको अभावमा असफल भएको बताउँदै उनले केही समय ‘कुलिङ पिरियड’ लिएर पुनःविवेकशील अभियानलाई नै अगाडि बढाउने जिकिर गरे। उनले भने, ‘जानुहुने साथीहरूलाई शुभकामना छ। म यो एकीकरणमा सामेल छैन।’

त्यसैगरी विवेकशील साझाका पूर्व संसदीय दलका नेता रमेश पौड्यालले पनि आफू अहिलेको एकीकरणमा सामेल नहुने बताउँछन्। उनले रास्वपा प्रवेश गर्ने साथीहरूलाई शुभकामना दिँदै यो व्यक्तिगत छनोटको विषय भएको र आफू आजको कार्यक्रममा सहभागी नहुने बताएका हुन्। उनले भने, ‘रास्वपा प्रवेश गर्ने साथीहरूलाई शुभकामना छ। जहाँसम्म मेरो कुरा छ हरेक सदस्यको छनौटको अधिकार हुन्छ, सोही अनुसार म चाहिँ आजको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने छैन।’

विवेकशील साझाका एक केन्द्रीय सदस्यले रास्वपाको भावी योजना र कार्यदिशा स्पष्ट नभएको भन्दै आफू एकीकरणमा नजाने बताए। उनले पार्टी एकीकरण गरे पनि रास्वपाको वैचारिक लाइन स्पष्ट नभएको भनाइ राख्छन्। ‘रास्वपाको भावी दिशा स्पष्ट छैन। उसको आन्तरिक विवाद बढेको छ। पार्टीभित्रको नेतृत्व दबाब तथा असन्तुलन उस्तै छ,‘ उनी भन्छन्, 'चुनाव जित्नका लागि मात्रै जाने हो भने त कांग्रेस वा एमालेमा गए हुने हो। चुनाव मात्र महत्त्वपूर्ण हैन।’ 

उनले नयाँ राजनीतिक दलहरूले पुराना ठूला दलहरू कांग्रेस, एमाले, माओवादीसँग प्रतिस्पर्धा गर्नुपर्ने समय रहेको बताउँदै विवेकशील साझाका धेरै पुराना संस्थापक धारका सदस्यहरू समेत एकीकरणमा नजाने मनस्थितिमा रहेको दाबी गरे।

विवेकशील साझा र रास्वपा एकीकरण प्रक्रियाले वैकल्पिक राजनीतिको ठूलो ध्रुवीकरणको सम्भावना बोके पनि आन्तरिक असन्तुष्टि, वैचारिक अस्पष्टता र नेतृत्वगत द्वन्द्वले अबको भविष्य कता भन्ने प्रश्न उठेको छ।

प्रकाशित: १४ मंसिर २०८२ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App