१८ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

हिमलुङ हिमपहिरोमा मृ’त्यु हुनेको संख्या १५ पुग्यो, एक जना अझै बेपत्ता

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। हिमपहिरोमा परेर अझै एक जना बेपत्ता रहेका प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा ओखलढुंगा घर भएका ३८ वर्षीय पासाङ नुरी शेर्पा रहेका छन्। नागरिकताको विवरणका आधारमा उनको स्थायी ठेगाना ओखलढुंगा रहेको खुलेको प्रहरीले जनाएको छ।

यस्तै, हिमपहिरोमा परी मृत्यु हुनेमा संखुवासभाका छेवि भोटे र पासाङ भोटे, गोरखाका विरेन्द्र गुरुङ र आश गुरुङ, खोटाङका घनश्याम राई, लक कुमार गुरुङ र सुरज राई रहेका छन्।

त्यस्तै, रुकुम पूर्वका कलम बुढा, काभ्रेपलाञ्चोकका बिर्ख ध्वज तामाङ र जगत तामाङ, सिन्धुपाल्चोकका उर्ख ध्वज बोहोरा, ओखलढुंगाका प्रेम तामाङ र दोलखाका कृति बहादुर तामाङ रहेका प्रहरीले जनाएको छ।

यसैगरी, वतन तथा उमेर नखुलेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ। बेपत्ता शेर्पाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

गत असोज २ गते काठमाडौंबाट हिमालय होलिडे कम्पनीका २१ जना र इमेजिङ नेपाल कम्पनीका ६ जना गरी २७ जना नेपाली पुरुष हिमलुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न गएका थिए।

उनीहरू असोज ११ गते राति करिब १२ः४५ बजे गएको हिमपहिरोमा परेका थिए। हिमपहिरोमा परेकामध्ये ११ जना सकुशल रहेकोमा १६ जना सम्पर्कविहीन भएका थिए।

प्रकाशित: १६ आश्विन २०८३ १६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App