राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले हिंसा नभइ विकासको बाटो रोज्न अपिल गरेका छन्।
रास्वपा सांसद सिंहले समाजिक सञ्जालमार्फत मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक तनावका घटनाले प्रदेशको सामाजिक सद्भाव मात्र नभइ समग्र विकास यात्रालाई समेत गम्भीर रूपमा प्रभावित पार्दै आएकाले मधेशवासीलाई शान्ति, एकता र विकासको साझा एजेन्डामा अघि बढ्न आग्रह गरेका हुन्।
विभिन्न समयमा भएको आन्दोलन र हिंसात्मक गतिविधिका कारण भौतिक संरचनामा क्षति पुग्ने, शैक्षिक गतिविधि अवरुद्ध हुने, व्यापार–व्यवसाय ठप्प हुने तथा लगानीको वातावरण कमजोर बन्ने जस्ता समस्याले मधेशलाई वर्षौं पछाडि धकेल्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन्।
मधेसमा हुँदै आएको यस्ता घटनाले सबैभन्दा ठूलो क्षति आम नागरिक र समग्र मधेशलाई नै पुग्ने भएकाले अब हिंसा र द्वन्द्वको राजनीति त्यागेर विकासको मार्ग रोज्न उनले आग्रह गरेका छन्।
सामाजिक सद्भाव, आपसी विश्वास र साझा विकास नै समृद्ध मधेश निर्माणको आधार भएको उल्लेख गर्दै उनले सबै आमा–बुवा, दाजुभाइ, दिदीबहिनी तथा युवालाई शान्ति, सहिष्णुता र विकासको अभियानमा एकजुट हुन आह्वान गरेका छन्।
यस्तो छ उनको स्टाटस:
प्रिय मधेशवासी
पटकपटक को आन्दोलन, जातिय र धार्मिक हिंसाले मधेशलाइ अशान्त मात्र होइन १० बर्ष पछाडि धकेलेको छ। यस्ता हरेक गतिविधिले मधेशको भौतिक संरचना भत्काउने ,शैक्षिकसत्र अबरुद्ध हुने,ब्यापार व्यवसाय ठप्प हुने जस्ता ले मधेशलाइ नै धक्का लाग्ने गरेको छ।
अब समय आएको छ सबै बर्ग सामुदाय मिलेर मधेशको सम्मुनत बिकासको एजेन्डा लाई अगाडि सारेर अघि बढन , अब मधेशले कुनैपनी हिंसात्म्क गतिविधि नगरेर सम्पुर्ण मधेश एक ढिक्का भएर मधेशको शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार ,कृषि र युवाको रोजगारी मा दीर्घकालीन बिकासमा जोड दिने समय हो।
म सम्पुर्ण मधेशवासी आमा बुवा दाजुभाइ दिदिबहिनी मा अपिल गर्न चाहन्छु कुनैपनि असमाजिक तत्व जस्ले एकजुट भएर बसेको समाजको शान्ति,सद्भाव खलबलाउने ब्याक्तीको पछाडि नलाग्न अनुरोध गर्दछु। त्यस्ता गतिविधि गर्ने जुनसुकै सामुदाय या बर्गको भएपनी त्यो मधेशको बिकासको बिरोधी हो बुझ्नुपर्छ र त्यास्ता लाई समाजिक बहिष्कार गर्नुपर्छ।
प्रकाशित: १४ श्रावण २०८३ ०८:२९ बिहीबार





