२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

दाहालले भने- यो एकता विगतका गल्ती सच्याउने संकल्प हो

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विगतमा राष्ट्र र जनताको पक्षमा काम गरे पनि अपेक्षित नतिजा निकाल्न नसकेको स्वीकार गरेका छन्।

शनिबार लुम्बिनी प्रदेशको दाङस्थित लमही (देउखुरी) मा आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै संयोजक दाहालले विगतका कमजोरीहरूप्रति गम्भीर आत्मसमीक्षा गर्दै अब सच्चिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बोधनका क्रममा दाहालले भने, ‘हामीले विभिन्न समयमा, विभिन्न रूपमा राष्ट्र र जनताको पक्षमा काम गर्न कोसिस गरे पनि भनेको जस्तो परिणाम निकाल्न सकिएको थिएन । हामी विस्तारै कहाँ त्रुटि भयो, कहाँ गल्ती र कमजोरी भयो भनेर समीक्षा गर्दै थियौँ।’

उनले विभिन्न अभियानमार्फत जनतासामु गएर समीक्षाको प्रक्रिया अघि बढाए पनि त्यो पूर्ण नभएको महसुस भएको बताए।

कम्युनिष्ट आन्दोलनको एकताका लागि फेरि नयाँ पहल गर्नुपर्छ भन्ने लागे पनि ठोस रूप लिन नसकेको अवस्थामा पछिल्लो समय विकसित घटनाक्रमले आफूहरूलाई एकठाउँमा ल्याएको उनको भनाइ थियो।

दाहालले जेन-जी आन्दोलनले आफूहरूलाई झकझकाएको बताए। ‘पछिल्लो जेनजी आन्दोलन, नयाँ युवा पुस्ताको आन्दोलनबाट जसरी हामी सबैलाई झकझक्याउने काम भयो, हामीले अझ गम्भीर रूपले आत्मसमीक्षा गर्नुपर्ने र आफूलाई सच्याउनुपर्ने ऐतिहासिक आवश्यकता महसुस भयो,’ उनले भने।

उनले जनताको चाहना र युवाहरूको भावना अनुसार सुशासन, आर्थिक समृद्धि र विकासका लागि आफूलाई बदल्नुपर्ने आवश्यकता औँल्याए।

यो एकतालाई उनले अचानक भएको घटना नभई लामो सहकार्यको परिणाम बताए। ‘यो हठात् भएको होइन । २०४१/४२ सालतिर माधव कुमार नेपाल र म पञ्चायत विरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणसम्म सहकार्य गर्दै आएका छौँ,’ दाहालले भने, ‘करिब ४१ वर्ष लामो संवाद र सहकार्यको बीचबाट एकताको यो नयाँ परिस्थिति सिर्जना भएको हो।’

दाहालले गत भदौ २४ गतेको घटनालाई स्मरण गर्दै देश निकै ठूलो संकट र जोखिममा रहेको टिप्पणी गरे।

उनले भने, ‘भदौ २४ गते हामीले आफ्नै आँखा अगाडि सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र प्रहरी बिटहरू जलेको देख्यौँ। केही घण्टाभित्रै मुलुक विध्वंस भएको दृश्य देखियो। यसले हामी सबैलाई भावुक र संवेदनशील बनायो।’

उनले देश यति कमजोर अवस्थामा पुगेको र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने देखिएकाले देशलाई बचाउन यो एकता अनिवार्य भएको जिकिर गरे।

प्रकाशित: १३ मंसिर २०८२ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App