प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार कामले कांग्रेस-एमाले कै नेताकार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन्।
संसदमा आज विशेष सम्बोधन गर्दै उनले अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न गरे।
दाहालले भने, 'राज्यको स्रोत र साधन सीमित दलाल पुँजीपति र विचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?' उनले पचासौं हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरू कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मीटरब्याज पीडितको समस्या झन जटिल बन्दै गएको उल्लेख गरे।
दाहालले सरकारका गतिविधिबाट आम जनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, 'यो एक वर्षमा तपाईंले कसको विश्वास जित्नुभयोरु कुन वर्ग लाभान्वित भयो ?'
सरकारका गतिविधिले जनविश्वासको गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ।
प्रकाशित: ३० असार २०८२ १४:२३ सोमबार