सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ। उक्त भिडियोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दिएको प्रतिक्रिया अहिले चर्चामा छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा जाँदै गर्दा बिचमा केही सञ्चारकर्मीले गरेको प्रश्नसँग चिढिएका दाहालले ‘आफू मरेपछि स्थिरता हुने’ भन्ने आशयले दिएको जवाफ चर्चामा आएको हो।
भिडियोमा एक पत्रकारले दाहालले जवाफ दिन नखोज्दा पनि तारन्तार सोधिरहेका छन्, ‘प्रचण्डजी सुन्नुस् न, यो जहिले पनि एमाले, कांग्रेस, माओवादी...’ उनले यसो भनिरहँदा संयोजक दाहाल एमाले महासचिव शंकर पोखरेललगायत नेताहरूसँगै अगाडि बढिरहेका हुन्छन्। अनि एकछिन रोकिएर ती पत्रकारले फेरि नजिकै गएर भन्छन्, ‘एमाले, कांग्रेस, माओवादीमा मात्र जानुहुन्छ जहिले पनि, तपाईंको स्थिरता चाँहि कहिले हुन्छ प्रचण्डज्यू?’
पहिलेदेखि नै जवाफ दिन नखोजिरहेका दाहाल त्यसपछि अनुहारको भाउ बिगार्दै पछाडि फर्केर जवाफ दिन्छन्, ‘मरेपछि’। त्यसपछि त्यहाँ भएका सबैजना गलल्ल हाँस्न थाल्छन्।
प्रकाशित: १८ श्रावण २०८३ १९:५३ सोमबार





