१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस एकतामा क्षति पुग्यो भने जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ : शशांक कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नेतृत्व असफल भए कांग्रेसको एकतामा गम्भीर क्षति पुग्न सक्ने चेतावनी दिएका छन्। उनले पार्टी विभाजनको अवस्था सिर्जना भए त्यसको राजनीतिक र नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै वहन गर्नुपर्ने बताएका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले नेतृत्वले सबै नेता–कार्यकर्ताको स्वाभिमानको सम्मान गर्दै संवाद, सहमति र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

‘पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादलाई समयमै सम्बोधन गरी संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको हो,’ उनले भने, ‘नेतृत्वले सबैको स्वाभिमानको सम्मान गर्दै सहकार्यको वातावरण बनाउन सके मात्रै कांग्रेस वास्तविक अर्थमा एकताबद्ध हुन्छ। अन्यथा पार्टी एकतामा क्षति पुग्यो वा विभाजनको अवस्था आयो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ।’

कोइरालाले लोकतन्त्रमा विचार फरक हुनु स्वाभाविक भए पनि त्यसलाई विभाजनको आधार नभई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्ने बताए। बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप, संवाद, सहिष्णुता र सहकार्यको राजनीतिक संस्कार आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो।

उनले मुलुक जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र संस्थाको संरक्षणका लागि जिम्मेवार लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीच परिपक्व सहकार्य आवश्यक रहेको बताए। यस्तो अवस्थामा कांग्रेसभित्र देखिएको अनावश्यक विवादले पार्टी मात्र होइन, नागरिकमा समेत नकारात्मक सन्देश प्रवाह गरिरहेको उनको धारणा थियो।

कोइरालाले आरोप–प्रत्यारोप, आग्रह–पूर्वाग्रह र समूहगत स्वार्थभन्दा माथि उठेर पार्टीको वैचारिक, संगठनात्मक र राजनीतिक एकतालाई सुदृढ बनाउन सबै नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आह्वान गरे।

बीपी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि बीपीले देखाएको त्याग र योगदानलाई स्मरण गरे। बीपीको विचार र सिद्धान्तलाई जीवन्त राख्ने संघर्ष नै आफ्नो जीवनको पहिलो र अन्तिम दायित्व भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक समाजवाद र राष्ट्रिय मेलमिलापको मार्गलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित: ६ श्रावण २०८३ १६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App