अभिनेता राजेश हमालले नेपाल-भारत सीमा सम्बन्धी बहसमा सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमणलाई एउटै अर्थमा बुझ्न नहुने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल–भारत सीमाको विषयमा दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा शुक्रबार हमालले सीमाको विषयमा आफ्नो धारणा राखेका हुन्।
नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकबीच शताब्दीयौंदेखि व्यापार, खेतीपाती तथा सामाजिक सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै उनले नदीले धार परिवर्तन गर्ने, सीमा स्तम्भ हराउने वा क्षतिग्रस्त हुने तथा बस्ती विस्तार हुने जस्ता घटनाहरू रणनीतिक विस्तारभन्दा बढी प्रशासनिक र स्थानीय प्रकृतिका समस्या भएको बताएका छन्।
साथै उनले राज्य–प्रायोजित भू–अतिक्रमणको प्रकृति भने पूर्णतः फरक हुने बताएका छन् । कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुँदा त्यहाँ व्यक्तिभन्दा राज्यका संस्थाहरू संलग्न हुने उनको भनाइ छ।
‘सडक निर्माण गरिन्छ, प्रशासनिक संरचना खडा गरिन्छ, सुरक्षा निकाय परिचालन गरिन्छ, सरकारी नक्साहरू संशोधन गरिन्छ र राज्यको अधिकार औपचारिक रूपमा लागू गरिन्छ,’ हमालले लेखेका छन्। उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको उदाहरणका रूपमा लिएका छन्।
हमालले वर्तमान विश्व राजनीतिक परिवेश अस्थिर र अनिश्चित बन्दै गएको भन्दै यस्तो अवस्थामा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक पर्ने बताएका छन्। नेतृत्वमा यी गुणहरूको अभाव भए राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ।
प्रकाशित: २२ जेष्ठ २०८३ १३:२८ शुक्रबार





