१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

योगेशले उठाए एमालेमा पुनर्गठनको आवाज

भदौ २३ र २४ गतेको घटनापछि उत्पन्न राजनीतिक संकट, हिंसा र क्षतिबारे नेकपा (एमाले)भित्र गम्भीर आत्मसमीक्षा र नयाँ चेतनासहितको पुनर्गठनको बहस सुरु भएको छ। एमालेका सचिव योगेश भट्टराईले सार्वजनिक वक्तव्य जारी गर्दै राज्य, समाज र पार्टी संरचनामा बहुआयामिक रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले भदौ २३ गते सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनको माग राखेर सडकमा उत्रिएका जेनजीमाथि भएको दमनको न्यायिक छानबिन हुनुपर्ने माग समेत राखेका छन्। त्यसैगरी भदौ २४ गतेको विध्वंसलाई जेनजी आन्दोलनको पवित्र माग र आदर्शविरुद्धको काम भएको बताउँदै फरक-फरक स्वार्थ बोकेका गलत समूहले घुसपैठ गरी श्रृंखलाबद्ध तथा संगठित आपराधिक गतिविधि गरेको, राष्ट्रिय सम्पदा तथा निजी संरचना जलाएको र नेताहरूको घरमाथि आक्रमण गरेको बताएका छन्।

अकल्पनीय विध्वंसले देशको आर्थिक संरचना बिगारेको, सामाजमा गहिरो पीडा छाडेको र सांस्कृतिक मूल्य मान्यतामा घाउ लागेको सचिव भट्टराईको भनाइ छ। यी गतिविधिको सत्यतथ्य रूपमा सरकारले छानबिन गनुपर्ने माग उनले गरे। उनले पार्टीमा आत्मालोचना र स्वीकारोक्तिको आवश्यकतामा रहेको भन्दै मार्क्सवादी दर्शन र एन्टोनियो ग्राम्सीको भनाइ उद्धृत गर्दै ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ’ भन्ने तर्क गरेका छन्। साथै उनले नेकपा एमालेले पार्टीमा ‘नयाँ चेतनाले पुनर्गठन’ गर्नुपर्ने बताए। 

भट्टराईले वर्तमान नेतृत्वको इतिहास र सम्मान बचाउनका लागि पनि आन्दोलनको वैभव, संगठनको साम्राज्य र विचारलाई बचाउनु आवश्यक रहेको तर्क गर्दै सन् १९९१ मा सोभियत पतनपछि मदन भण्डारीले जनताको बहुदलीय जनवाद जबज प्रतिपादन गरेको र २०६१ माघ १९ को ‘कु’ पछि युवा पुस्ताले अग्रसरता लिएर नवौँ महाधिवेशनमा आन्तरिक लोकतन्त्र स्थापित गरेको ऐतिहासिक उदाहरण दिँदै पुनर्गठन अनिवार्य भएको बताएका छन्।

उनले नयाँ पुस्ताको भावना र माग सम्बोधन सहित निर्वाचनमार्फत संविधानलाई ट्रयाकमा ल्याउनु अहिलेको पहिलो काम भएको बताए। त्यस्तै उनले सबै नेता, कार्यकर्ता र जनसमुदायलाई आवेग, आरोप र प्रतिशोधमा नभई सामूहिक ढंगले समस्याको हल खोज्न र पार्टीलाई पुनर्गठन गर्न अपिल गरेका छन्।

प्रकाशित: ९ आश्विन २०८२ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App