२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

अदालतको आदेशले एकवर्षपछि विद्यालय व्यवस्थापन समितिको चुनाव हुँदै

आकांक्षी धेरै भएपछिको विवादले रोकिएको बालमन्दिर माध्यमिक विद्यालय बोक्सेको विद्यालय व्यवस्थापन समिति चयन प्रक्रिया एक वर्षपछि पुनः सुरु भएको छ । नेतृत्व चयनमा रोकिएको चुनावी प्रक्रिया अदालतको आदेशले एकवर्षपछि हुन लागेको हो ।  

सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेस्थित कक्षा १२ सम्म पढाइ हुने बालमन्दिर माविको व्यवस्थापन समिति गठन प्रक्रिया ०८१ असोज २२ गतेदेखि रोकिएको थियो । अभिभावक भेलाले २ जना समावेशी महिलासहित ४ सदस्य चयन गर्नुपर्नेमा आकांक्षी धेरै भएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।  

तर, २ महिला निर्विरोध निर्वाचित भए पनि बाँकी २ पुरुष सदस्यमा ४ जनाको उम्मेदवारी परे पनि विवाद सृजना भएपछि निर्वाचन हुन सकेको थिएन । चुनावी प्रक्रिया चलिरहेकै बेला त्रियुगा नगरपालिकाको निर्देशनमा रोकिएको भन्दै उच्च अदालत विराटनगरमा रिट परेको थियो ।  

अदालतले प्रारम्भिक फैसलामा चुनावी प्रक्रिया यथास्थितिमा राख्न आदेश दिए पनि गत साउन २९ गते पूर्णफैसला सुनाउँदै २ महिनाभित्र विव्यस गठन गर्न दिएको आदेश अनुसार चुनाव गर्न लागिएको हो । विद्यालयका प्रधानाध्यापक जेबी खड्काले अदालतले २ महिनाभित्र व्यवस्थापन समिति गठन गरिसक्न आदेश दिए अनुसार असोज २६ गते बाँकी सदस्य छनौट गर्न चुनावी प्रक्रिया अघि बढाइएको बताए ।  

प्रअ खड्काका अनुसार गतवर्षको अभिभावक भेलाले महिला र समावेशी महिलातर्फ २ सदस्य मैया खड्का र लाक्पा शेर्पा निर्विरोध निर्वाचित भईसकेका छन् । बाँकी २ पुरुष सदस्यका लागि क्रमशः चन्द्रप्रसाद पोखरेल, चन्द्रबहादुर विश्वकर्मा, सुपराज राई र खगेश्वर भट्टराईको उम्मेदवारी परिसकेको छ ।  

यथास्थितिमा राखेको चुनावी प्रक्रियालाई अदालतले त्यही बिन्दुबाट अघि बढाएर बाँकी सदस्य चयन गर्न आदेश दिएको प्रअ खड्काले बताए । आदेश अनुसार रोकिएकै बिन्दुबाट सदस्य चयन प्रक्रिया अघि बढाईसकेको र आउँदो २६ गते सोमबार मतदान गर्नेगरी  कार्यक्रम तय भईसकेको उनले बताए ।  

समयमा व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको प्रशासनिक तथा भौतिक गतिविधिमा अवरोध भईरहेको प्रअ खड्का बताउँछन् । अघिल्लो समितिको म्याद सकिएको वर्षदिनपछि सुरु भएको गठन प्रक्रिया रोकिएको १ वर्ष बितेकाले २ वर्षदेखि समितिविहीन विद्यालयको कतिपय काम कारबाही अघि बढ्न नसकेको उनले बताए ।  

 

नयाँ शिक्षक भर्ना, सरुवा, बढुवा तथा भौतिक पूर्वाधार निर्माण र सञ्चालनलगायत गतिबिधिमा नभई नहुने समिति गठन हुन नसक्दा स्कुलका कतिपय कामकारबाही प्रभावित हँुदै आएको छ । समिति गठनसँगै अड्किएको ४ करोड लागत मूल्यमा निर्मित अत्याधुनिक विद्यालय भवन उद्घाटन पनि हुन नसकेको प्रअ खड्काले बताएका छन् ।  

 

प्रकाशित: २४ आश्विन २०८२ १८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App