अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पोखराको लिचीबगान जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यो प्रकरणमा अख्तियारले मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, बिचौलिया भनिएका सुजन लामा, खेम पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगरलाई पनि प्रतिवादी बनाएको छ। प्रतिवादीमध्ये पुनबाट २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। आरोपपत्रमा अन्य ६ जनाबाट जनही ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
कास्कीको पोखरा बाटुलेचौरस्थित लिचीबगानको १ सय ३४ रोपनी जग्गा हडप्न पूर्वमन्त्री गुप्ता, श्रेष्ठ र बिचौलियासहितको घुस ‘डिल’ अडियो सार्वजनिक भएपछि अख्तियारले यो विषयमा अनुसन्धान थालेको थियो। तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्तासहितको घुस प्रकरणको अडियो गत असारमा सार्वजनिक भएको थियो। पुसमै भएको कुराकानीको अडियो असारमा बाहिर आएको थियो।
भूमिसुधार मन्त्रालयअन्तर्गतका मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि गुप्ता यो प्रकरणमा मुछिएका थिए। गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको थियो। उजुरी दर्ता भएपछि मात्र मन्त्रीले गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो।
मन्त्री गुप्ताको अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि मुछिएको छ तर अख्तियारले तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा चलाएको छैन। अख्तियारमा असार १० गते नै उजुरी परेको थियो। सो उजुरीकै आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ताले एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनबारे कुराकानी गरिरहेको सुनिन्छ।
कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिने र भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिका विषयमा घुस डिल भइरहेको अडियोमा सुनिन्छ। मालपोत कार्यालय प्रमुखको थमौतीका लागि मन्त्री गुप्ताले ५३ लाख रूपैयाँ लिएको उजुरी पर्नुका साथै केही रकम डिल भइरहेको पनि अडियोमा सुनिएको छ। ‘खेम पुनका लागि के। २० बुझाइदिन्छु के। भन्दिनू त बलरामलाई। भन्दिनू त मन्त्रीज्यू,’ बिचौलियाको आवाज अडियोमा सुनिएको छ।
अडियोमा एमाले गण्डकी प्रदेश सदस्य खेम पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्न बिचौलियाले २५ लाख रुपैयाँ घुस प्रस्ताव गरेको सुनिन्छ। संवाद भएकै दिन १५ लाख र भोलिपल्ट थप १० लाख रुपैयाँ दिने अडियोमा सुनिन्छ। त्यतिबेला मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रूपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो।
अख्तियारले यो प्रकरणमा मुछिएका तत्कालीन भूमिसुधार मन्त्री बलराम अधिकारी र सचिव अर्जुन पोखरेलका हकमा अलगै अनुसन्धान गर्नुपर्ने निर्णय गरेको छ। बिचौलिया भनिएका लामासँग तत्कालीन मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको र तत्कालीन सचिव पोखरेल (हाल अवकाश) ले पाँच लाख रुपैयाँसहित १० हजार रुपैयाँ मूल्यको सामान, ग्लेनफिडिच रक्सी र दुई वटा वन कुखुरा लिएको विषयमा छुट्टै मिसिल खडा गरी अनुसन्धान अधिकृत तोकी थप अनुुसन्धान गर्ने निर्णय भएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।
प्रकाशित: २३ आश्विन २०८२ ०७:३४ बिहीबार





