१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

स्थानीय नेतालाई उम्मेदवार बनाउनुपर्ने भन्दै कांग्रेस युवाले लगाए कार्यालयमा ताला

बाँकेको क्षेत्र नम्बर ३ मा स्थानीय नेतालाई उम्मेदवार बनाउनुपर्ने मागसहित कांग्रेसका केही युवाहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। नेपाली कांग्रेस बाँकेको मुलगेटमा उनीहरूले मंगलबार बिहान तालाबन्दी गरेको महाधिवेशन प्रतिनिधि रबिन्द्रमान श्रेष्ठले जानकारी दिएका छन्।

उक्त क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको स्रोतले जनाएको छ। यद्यपी, पुनले अझै टिकट हातमा लिइ नसकेको प्रतिक्रिया दिएका छन्। सभापति पुन स्वयं पार्टीको टिकट वितरणमा व्यस्त छन्। कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा महासमिति सदस्य लक्ष्मी नारायण शाहले टिकट लिन अहिले पनि जोडबल गरिरहेका छन्।

पार्टी कार्यालयको मुलगेटमा कालो ब्यानर र प्लेकार्डसहित उपस्थित भएका युवाहरूले नाराबाजीसमेत गरेको महाधिवेशन प्रतिनिधि श्रेष्ठले बताए। उनले नागरिकसँग भने, ‘२०७९ सालको निर्वाचनमा पार्टीका सह-महामन्त्री किशोरसिंह राठौंर चुनाव लड्न आउनु भयो, अहिले फेरि लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन आउँदै हुनुहुन्छ, यसरी त स्थानीय स्तरमा दिनरात काम गरिरहेका नेता, कार्यकर्ताको मनोबल खस्किन्छ।’  

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव ज्ञानबहादुर ओलीले टिकट वितरणको असन्तुष्टीले निर्वाचन परिणाम बिग्रिने खतरा देखिएको बताए। ‘विगतझैँ यो निर्वाचनमा पनि टिकट वितरण न्यायोचित देखिएन, यसले पार्टीका कार्यकर्तालाई उत्साहित होइन, निराश बनाएको छ,’ उनले भने।

प्रकाशित: ६ माघ २०८२ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App