इलाका प्रहरी कार्यालय टाँडीका अनुसार गएराति चितवनमा प्रहरीको मोबाइल गाडी दुर्घटनामा पर्दा चार जना प्रहरी घाइते भएका छन्।
गएराति साढे १२ बजे रत्ननगर नगरपालिका–१० भानु चोकमा भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको इलाका प्रहरी कार्यालय खैरहनीको ना १ झ १४०५ नम्बरको मोबाइल गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको तेल ट्याङ्करले ठक्कर दिँदा चार जना घाइते भएका हुन्। सो मोबाइल गाडी वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको निर्वाचन सामग्री स्कर्टिङ गरी फर्किने क्रममा रहेको चितवन प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा मोबाइल गाडीका चालकसहित चार जना प्रहरी घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा रौतहट घर भइ हाल इप्रका खैरहनीमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक रामकिशोर सुडी (शरीरका विभिन्न भागमा मध्यम चोट), संखुवासभा घर भइ इप्रका खैरहनीमा कार्यरत ३७ वर्षीय प्रहरी हवल्दार चेतनाथ पोख्रेल (टाउकोमा गम्भीर चोट), ओखलढुंगा घर भइ चालकको रूपमा कार्यरत २९ वर्षीय प्रहरी जवान महेश घिमिरे (टाउकोमा मध्यम चोट) तथा कैलाली घर भइ कार्यरत २४ वर्षीया प्रहरी जवान इश्वरी दानी (शरीरका विभिन्न भागमा मध्यम चोट) रहेका छन्।
ठक्कर दिने तेल ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय टाँडीबाट करिब एक किलोमिटर पश्चिम पर्छ। प्रहरी नायब उपरीक्षक सुवाष भट्टको कमाण्डमा १० जनाको टोली खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ ०८:५६ सोमबार





