७ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा विघटनप्रति कांग्रेस असन्तुष्ट, सबै दलसँग छलफल गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोध गर्ने भएको छ । जेनजी आन्दोलनबाट ध्वस्त भएको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनको विपक्षमा भने नजाने निर्णय लिएको हो ।  

आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवा अझै उपचारका क्रममा रहेकाले बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । बैठकले निर्वाचन प्रक्रियाबारे प्रश्न उठाउने निर्णय गरेको छ ।  

नेकपा (एमाले) सँगको सहकार्यमा बनेको तत्कालिन सरकारको नेतृत्व केही महिनापछि कांग्रेसमा आउँदै थियो । तर गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिक कायापलट गरिदियो ।  

जेनजी आन्दोलन उत्कर्षमा रहेका समय भदौं २४ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । भदौं २६ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भयो । सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेका छन् ।  

प्रमुख दलहरु कांग्रेससहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गर्दै आएका छन् । यद्यपि निर्वाचनमा सहभागी हुने भन्ने विषयमा भने उनीहरु लचक देखिन्छन् । प्रतिनिधिसभा विघटनबारे कांग्रेसले अन्य दलहरुसँग कुराकानी गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित: ३ आश्विन २०८२ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App