नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शनिबारका लागि बोलाइएको छ। बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शनिबार दिउँसो १ बजेका लागि सारिएको हो।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाबीच बुधबार साँझ भएको भेट अनुसार बैठक शनिबारका लागि सारिएको निकट स्रोतको दाबी छ। शनिबार बिहानसम्म १५औं महाधिवेशनका विषयमा सहमति जुटे असोज २८ गते देखि सुरु भएको बैठक शनिबार नै सकिने छ। र, नेताहरूबीच महाधिवेशनमा सहमति जुट्न नसके बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको निर्णय लिने छ। साथै प्रतिनिधिसभा निर्वाचनका लागि पनि दल दर्ताको लागि पनि बैठकले निर्णय गर्नेछ।
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस ७ गतेभित्र दल दर्ता गर्न समय सीमा तोकेको छ। त्यस्तै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सहभागि हुन आयोगले मंसिर ११ गतेसम्म दल दर्ता गर्न समय तोकेको छ।
भदौ २४ गतेपछि फेरिएको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न असोज २८ गते देखि सुरु कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टीको १५औं महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि कि पछि वा विशेष महाधिवेशन भन्नेमा विवाद छ । त्यसमा सहमति जुट्न नसक्दा बैठक एक साता देखि सूचनामार्फत् सर्दै आएको छ।
पार्टीका संस्थापन पक्ष नेताहरूले फागुन २१को निर्वाचनलाई केन्द्रमा राखेर वैशाखमा १५औं महाधिवेशन गर्नुपर्ने अडान छन् भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू अविलम्ब नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। नेता शेखर कोइरालासहितका नेताहरू पुस अन्तिममा नियमित महाधिवेशनको पक्षमा छन्। त्यसले नै विशेष महाधिवेशन पक्षधरलाई पनि सम्बोधन गर्ने जनाउँदै आएका कोइरालाले सर्वसहमतिबाट विशेष महाधिवेशन गर्न सकिने पक्षमा छन्। पार्टीका विभिन्न नेताहरूसँग छलफल गरी रहेका कोइरालाले शुक्रबार निकट नेताहरूसँग सामुह छलफलमा छन्।
पार्टीभित्र चौतर्फी दबाबमा रहेका कार्यवाहक सभापति खड्का केन्द्रीय समितिबाट विशेष महाधिवेशन वा नियमित महाधिवेशन निर्वाचन अघि वा पछि जहिले गरेपनि सर्वसहमतिबाट गर्नुपर्ने पक्षमा छन् । त्यसले गर्दा कांग्रेस बैठक प्रभावित हुँदै आएको छ । पछिल्लो पटक बैठक सार्नुअघि खड्का र थापाबिच छलफल भएको थियो ।
प्रकाशित: ४ मंसिर २०८२ १७:५३ बिहीबार





