नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाएको छ।
संस्थापन पक्षसँगको वार्ता निष्कर्षमा नपुगेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले एकतर्फी रूपमा निर्वाचनका कार्यक्रम अगाडि बढाएको हो।
भृकुटीमण्डपमा अहिले उम्मेदवारको मनोनयन फारम वितरण कार्य भइरहेको छ। निर्वाचन समितिले यसअघि दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको भए पनि त्यसलाई संशोधन गर्दै साँझ ५ बजेपछि सारिएको छ।
मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १:३० बजेसम्म मतदानको समय तालिका तय गरिएको छ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि पदअनुसार फरक–फरक शुल्क निर्धारण गरेको छ। जसअनुसार सभापति पदका लागि ३० हजार रूपैयाँ दस्तुर तोकिएको छ।
त्यस्तै, उपसभापति र महामन्त्रीका लागि २५/२५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ।
महाधिवेशनबाट साविकको विधानअनुसार एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित हुनेछन्।
यस्तै, आठ जना सह-महामन्त्री (महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएको क्षेत्र) तथा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चयन हुनेछन्।
कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिबाट मनोनित हुने व्यवस्था छ। महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा आइतबारदेखि सुरु भएको यो विशेष महाधिवेशनलाई पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने वैधानिकता दिएको छैन।
सहमतिका लागि विभिन्न तहमा छलफल भए पनि कुरा नमिल्दा असन्तुष्ट पक्षले निर्वाचन प्रक्रिया अघि बढाएको हो।
प्रकाशित: २९ पुस २०८२ १५:२२ मंगलबार





