नेपाली कांग्रेस मुलुकमा प्रजातान्त्रिक समाजवाद स्थापनाको कार्यनीतिसहित झन्डै आठ दशकअघि स्थापना भएको दल हो । देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेस अहिले क्रियाशील सदस्यताको विवादमा रुमलिन पुगेको छ ।
जसले गर्दा पार्टीको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने निश्चित छैन । मुलुकको पुरानो मात्र नभएर लोकतान्त्रिक पार्टीको छवि बनाएको कांग्रेसको महाधिवेशन अनिश्चित बन्दै जाँदा आन्तरिक संकटमा पर्नुका साथै जनतामा पनि उसको छवि धमिलिन पुगेको छ ।
लोकतान्त्रिक पार्टीको छवि र विश्वाससहित आम जनताले कांग्रेसलाई साथ र समर्थन गर्दै आए पनि एकपछि अर्को गर्दै प्रतिस्पर्धी दलहरूको नक्कल गर्न थालेको आरोप पार्टीभित्रैबाट लाग्ने गरेको छ ।
अन्य दलको नक्कल गर्ने क्रममा पार्टीको पुरानो पहिचान नै गुमाइसकेको भनेर कांग्रेस नेताहरूले गुनासो गर्ने गरेका छन् । विधि र विधानमा लोकतान्त्रिक पार्टी भए पनि व्यहारमा भने विधिविहीन पार्टीजस्तो बन्न पुगेको छ । पार्टी विधानअनुसार कामै गर्न नसकेको कांग्रेसका लागि आफ्नै महाधिवेशन गर्ने विषय पनि सकसपूर्ण बन्न पुगेको छ । चार वर्षमा महाधिवेशन गर्ने व्यवस्था विधानमा छ । कांग्रेसको १४औं महाधिवेशन भएको गत मंसिरमा चार वर्ष पुरा भइसकेको छ । तर कांग्रेसको १५औं महाधिवेशन कहिले हुन्छ भनेर अझै सुनिश्चित भएको छैन ।
लामो छलफल र विवादबिच यही पुस २६ गतेदेखि १५औं महाधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको छ । तर तोकिएको मितिमा महाधिवेशन गर्न उसले क्रियाशील सदस्यता नै वितरण गर्न सकेको छैन । आफूलाई मास बेस पार्टी भन्ने कांग्रेसले कम्युनिस्ट पार्टीहरूले जस्तै सदस्यता भएकै आधारमा नेतृत्व चयन गर्ने प्रणाली विकास गरेको छ ।
त्यही सदस्यता आफ्नो पक्षमा पारेर नेतृत्वमा पुग्ने र टिक्ने रणनीतिमा कांग्रेस नेताहरू सक्रिय रहँदा महाधिवेशनअघि सधैं सोही विषय पेचिलो बन्ने गरेको छ । त्यति मात्र होइन, सदस्य संख्या बढाउँदै लगे पनि जनतासँगको सम्बन्ध टुट्दै जाँदा आम निर्वाचनमा मत भने कांग्रेसको घट्दै गएको छ । त्यति मात्र होइन कांग्रेस मास बेस पार्टी हो कि क्याडर बेस भन्नेमा प्रश्न उठ्न थालेको छ ।
१४औं महाधिवेशनमा कायम रहेका क्रियाशील सदस्यमा नयाँ ६ लाख सदस्यता कांग्रेसले तल्लो तहसम्म पुर्याएको छ । सदस्य संख्याकै आधारमा कम्युनिस्ट पार्टीहरूले जस्तै संगठनात्मक स्वरूप पनि कांग्रेसले निरन्तर बदल्दै लगेको छ । नेकपा एमालेसहित अन्य पार्टीले जस्तो क्याडर बेस बनाउन नसकेको कांग्रेसले मास बेस पार्टीको अवधारणालाई पनि आत्मसात् गर्न सकेको छैन ।
त्यसकारण कांग्रेस पार्टी हाँस न कौवाजस्तो बन्न पुगेको नेताहरू बताउँछन् । कसैको अगाडि पनि आज सिद्धान्त नभएको जनाउँदै कांग्रेस नेता चन्द्र भण्डारीले भन्छन्, ‘पद, सम्पत्ति र त्यसबाट जन्मिएको ‘मको अहंकार मात्रै छ । हिजोको कांग्रेस अब छैन, त्यो सोच पनि छैन ।’ कांग्रेसमा सहनशीलता र सम्बन्धको मर्यादा पनि बाँकी नरहेको उनको तर्क छ । ‘कांग्रेसमा न मास पार्टीको चरित्र छ, न क्याडरको अनुशासन,’ उनले भने, ‘पार्टी आज विचारमा होइन, घटनामा आधारित संरचनामा रूपान्तरित हुँदै छ ।’
कम्युनिस्ट नीति र सिद्धान्तबाट प्रभावित दलहरू गैरकम्युनिस्ट र लोकतान्त्रिक एवं समाजवादी नीति र सांगठनिक स्वरूपलाई आत्मसात् गर्न थालेका बेला कांग्रेस भने कम्युनिस्ट मोडललाई पछ्याउन अग्रसर भएको छ । नेताले चाहेको व्यक्तिले पार्टीको क्रियाशील सदस्यता पाउने र तिनै क्रियाशील सदस्यले पार्टीको तलदेखि माथिसम्मको नेतृत्व चयन गर्ने व्यवस्था कांग्रेसमा छ । क्रियाशील सदस्यता कम्युनिस्टहरूले संगठित सदस्य बनाएजस्तो भएको जनाउँदै कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया त्यस्ता सदस्य पनि संगठन होइन, गुट र व्यक्तिप्रति उत्तरदायी हुँदा पार्टीमा समस्या थपिएको बताउँछिन् । समाजवादी चिन्तन र सिद्धान्त छाडेर नीतिभन्दा नेतामुखी भएको आरोप कांग्रेसमाथि लाग्ने गरेको उनले बताइन् । ‘क्रियाशील सदस्यहरूले एउटा चरणमा कसैलाई भोट हालिदिएपछि आफ्नो जिम्मेवारी सकिएको भन्ने ठान्ने कुरा गलत भयो ।’
२०४६ अघिसम्म चौवन्नी सदस्य भनेर दिने गरिए पनि २०४६ पछि क्रियाशील सदस्य हुँदै महाधिवेशन, महासमितिमार्फत नेतृत्व चयनको परम्परा सुरु भएको नेताहरू बताउँछन् । त्यसपछि नै पेसागत राजनीतिमा हात हालेको कांग्रेसले २०६२/६३ सालको आन्दोलनपछि जातीय संघसंगठन खोल्न सुरुआत गरेको हो । विधानमा जातीय र क्षेत्रीय कुरा नभएका बेला पनि व्यवहारमा सबै जातजाति र समुदायको प्रतिनिधित्व र सहभागितालाई कांग्रेसले सुनिश्चित गर्दै आएको थियो । अहिले कांग्रेसले विधानमा जात, क्षेत्रको उल्लेख छ ।
व्यवहारमा भने कमजोर बन्दै गएको आरोप लाग्दै आए पनि कांग्रेस काठमाडौं–७ का महासमिति सदस्य सुशील भट्ट त्यसलाई स्वीकार गर्न तयार छैनन् । राणा शासनदेखि लोकतन्त्रको रक्षाका लागि लड्दै आएको पार्टी सबैको भएको उनले बताए । कांग्रेस सबै वर्ग, क्षेत्र र समुदायको पार्टी भएको जनाउँदै भट्टले भने, ‘कांग्रेस कुनै जातको, कुनै वर्गको, कुनै क्षेत्रको पार्टी होइन । यो किसानको हलो हो, मजदुरको हात हो, युवाको सपना हो र आम जनताको आशा हो । महिला, दलित, जनजाति, मधेसी, पहाडी सबैको आवाज हो ।’
कांग्रेस कालिकोटका नेता भुपेन्द्रजंग शाहीले पार्टीमा सहभागिता बढाउनभन्दा पनि संगठन कब्जा गर्न मात्र क्रियाशील सदस्यता वितरण गर्ने परम्परा बढेको बताए । पार्टीका क्रियाशील सदस्यहरू संगठन निर्माणमा सक्रिय नभएको गुनासो गर्दै उनले भने, ‘पार्टीमा नयाँलाई सदस्यता दिएर जोड्नभन्दा आफ्नालाई सदस्यता दिएर कांग्रेस कब्जा गर्न खोज्दा संगठन कमजोर नेता बलियो र पार्टी कमजोर बन्दै गएको छ ।’
त्यस्तै कांग्रेसका अर्का नेता भरत खड्काले पनि पार्टीको सदस्यता संगठन विस्तार र जनतासँग जोडिनेभन्दा पार्टीमा आफ्नो बाहुल्य बढाउने गरी वितरणको प्रयास हुने गरेको बताए । पार्टीमा सबै क्षेत्र, समुदाय र उमेर समुहका समेट्नुपर्ने जनाउँदै उनले भने,‘कांग्रेसलाई नेता होइन नीति मुखी बनाउनुपर्दछ । सदस्यता पनि बढाउनुपर्दछ त्योभन्दा बढी कांग्रेस जनतासँग जोडिनुपर्छ ।’
प्रकाशित: १३ पुस २०८२ २१:४७ आइतबार





