२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

रणनीतिक बैठकको तयारीमा कांग्रेसको इत्तरसमूह

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनइतर समूहको रणनीतिक बैठक बोलाएका छन्। बैठक शुक्रबार उनका निवासमा बस्ने तय भएको छ।

संस्थापनइतर समूहको नेतृत्व गरिरहेका खड्काले सातै प्रदेशमा सम्पन्न भएका प्रदेश भेलाको समीक्षा गर्दै आगामी रणनीति तय गर्न बैठक आह्वान गरेका हुन्। बैठकमा प्रदेश भेलापछि देखिएको राजनीतिक अवस्था, राष्ट्रिय भेला आयोजना तथा १५औँ महाधिवेशनको तयारीका विषयमा विस्तृत छलफल हुनेछ।

संस्थापनइतर पक्षभित्र अब राष्ट्रिय भेला आयोजना गर्नुपर्ने आवाज पनि उठिरहेको छ। त्यसैअनुसार काठमाडौंको चुनदेवीमा १५औँ महाधिवेशन लक्षित सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने र राष्ट्रिय भेला बोलाउने विषय बैठकको मुख्य एजेन्डा रहने नेताहरूले बताएका छन्।

यसअघि बिहीबार पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा पनि यही विषयमा छलफल भएको थियो। नेताहरूका अनुसार चुनदेवीस्थित सम्पर्क कार्यालय यही साताभित्र सञ्चालनमा ल्याइने तयारी गरिएको छ। उक्त कार्यालयमार्फत १५औँ महाधिवेशनको तयारीसम्बन्धी गतिविधि अघि बढाइने जनाइएको छ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष सहभागी भएका थिएनन्। त्यसयता उनीहरूले १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र सहमतिका आधारमा सम्पन्न हुने वातावरण निर्माण गर्न संस्थापन पक्षसमक्ष विभिन्न प्रस्ताव राख्दै आएका छन्।

प्रकाशित: १८ असार २०८३ १६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App