नेपाली कांग्रेसलाई विभाजन हुन नदिन महाधिवेशन प्रतिनिधिहरूको राष्ट्रिय भेला तत्काल बोलाउन माग गरिएको छ। पार्टी नेताहरूको भक्तपुरमा सम्पन्न एक भेलाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको ठहर गर्दै एकताबद्ध र अविभाजित कांग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने धारणा राखेको हो।
भेलामा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, निवर्तमान केन्द्रीय सदस्य गोविन्द भट्टराई, उमेशजङ्ग रायमाझी, मानबहादुर नेपाली, किरण पौडेल, गुरु बराल, लक्ष्मी खतिवडा, पुष्प पराजुली, सीता देवकोटा, विद्या तिमल्सिना, उषा रावत, लक्ष्मणबहादुर बस्नेत, बालचन्द्र पौडेल, विनोद कायस्थ, ध्रुव अधिकारी, भुपेन्द्र थापा, सत्यराज भण्डारी, चन्द्रादेवी जोशी, रुद्रबहादुर खड्का, राजेन्द्र ताल्चा भडेल, हस्तबहादुर मल्ल, प्रमोद रिमाल, उत्तम चापागाई, अनिल भुजु, केशव ढुंगाना लगायतका वक्ताहरूले देशको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा आ-आफ्ना विचार व्यक्त गरे। उनीहरूले नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र कमजोर हुने नभई देशको राष्ट्रियतामाथि पनि प्रहार हुने गरेको दृष्टान्त प्रस्तुत गरे।
अधिकांश वक्ताहरूले वर्तमान सरकार देशको संविधान कानून मिच्दै उद्योगी, व्यवसायी, कर्मचारी, मजदूर, सुकुम्बासी लगायत सम्पूर्ण तह र तप्कामा डर, त्रास र भय सृजना गरेर आतंक मच्चाएको आरोप लगाएका थिए। अहिले नेपाली कांग्रेसका केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्ताहरू नियमित र विशेष महाधिवेशनका नाममा विभाजित नभई बीपीको विचार, शहिदहरूको त्याग, तपस्या र बलिदानलाई सम्झँदै नयाँ ढंगबाट पार्टीलाई पुनर्गठन र पुनः संयोजन गर्दै अगाडि बढेमा पार्टीभित्र नयाँ पिढीको आकर्षण बढ्ने विश्वास व्यक्त गरेका थिए।
साथै पार्टी विभाजन हुन नदिन पार्टीको तल्लो तहसम्म बहस अगाडि बढाउनपर्ने निष्कर्ष सबै वक्ताहरूको रहेको थियो।
प्रकाशित: ४ श्रावण २०८३ १४:१५ सोमबार





