नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीभित्र तल्लो तहदेखि शीर्ष तहसम्मै एकता अपरिहार्य रहेको बताएका छन् ।
डा कोइरालाले एक विज्ञप्ति जारी गर्दै कांग्रेस यतिबेला इतिहासकै सबैभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गर्दै आन्तरिक एकता अपरिहार्य भएको बताए ।
उनले भनेका छन्, ‘आन्तरिक विवादले पार्टीमात्रै होइन सिंगो मुलुकको लोकतन्त्र र व्यवस्थाप्रति नै असर पुग्न सक्ने जोखिम बढाएको छ । यस्तो प्रतिकूल अवस्थामा तल्लो तहदेखि शीर्ष तहसम्मै एकता अपरिहार्य छ।’
कांग्रेसमा पछिल्लो समय उत्पन्न मतभेदप्रति कोइरालाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको कताएका छन् । पटक–पटक भएका आन्दोलन र विद्रोहपछि समयानुकूल पार्टीका गतिविधी रुपान्तरित हुनुपर्नेमा उनले जोड दिएका छन् ।
डा कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि, मूल घर नै तहसनहसको अवस्थामा पुग्दा समेत परिवारका सदस्यहरूबीच वैमनश्यता कायम राखेर रुपान्तरणको कुनै अर्थ हुँदैन । पछिल्लो समय कांग्रेसमा रुपान्तरणको जरुरी थियो, तर त्यसैका नाममा भएका गतिविधिले कांग्रेसलाई कुन अवस्थामा पुर्यायो हामी सबै जानकार छौँ ।’
कांग्रेसको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेका बेला नेता पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि बाधक बन्ने उनले बताएका छन् ।
अदालतमा मुद्दा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधीले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने उनको भनाइ छ ।
प्रकाशित: ३ वैशाख २०८३ १७:४६ बिहीबार





