२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

लोकतन्त्रलाई ट्रयाकमा ल्याउन कांग्रेसको पनि खाँचो छ: पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले देशको लोकतान्त्रिक व्यवस्थालाई सही ट्रयाकमा ल्याउन र संविधानको रक्षा गर्न नेपाली कांग्रेसको सहकार्य अपरिहार्य रहेको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले राजनीतिक स्थिरता र प्रणालीको रक्षाका लागि प्रमुख दलहरू, विशेषगरी एमाले र कांग्रेसबीचको सहकार्यमा जोड दिएका हुन्।

पाण्डेले २०६२/०६३ को राजनीतिक परिवर्तन र संविधान निर्माणमा एमाले र कांग्रेस मुख्य साझेदार रहेको स्मरण गर्दै अहिले देखिएको अस्थिरता चिर्न पनि यी दुई दल एक ठाउँमा उभिनुपर्ने बताए।

‘अहिलेको लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाहरू जो ‘डिरेल’ हुन (बाटो बिराउन) खोजेका छन्, त्यसलाई ट्रयाकमा ल्याउन एमालेलाई कांग्रेसको पनि खाँचो छ,’ पाण्डेले भने, ‘संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि हामी एउटै पार्टनर हौँ, साझेदार हौँ।’

उपाध्यक्ष पाण्डेले चुनावमा प्रतिस्पर्धा भए पनि राष्ट्रिय सङ्कटको बेला र ‘सिस्टम’ जोगाउने सवालमा सहकार्य टुट्न नहुने जिकिर गरे।

‘अहिलेको यो ‘डिरेल’ भएको अवस्थालाई ट्रयाकमा ल्याउनको लागि सम्भव भएका सबै साझेदारहरूलाई सँगै लिएर जानुपर्छ,’ उनले भने, ‘अहिले कांग्रेससँगको सम्बन्ध वा सहकार्यलाई निषेध गरेर मुलुकको समस्या समाधान हुँदैन।’

प्रकाशित: १८ मंसिर २०८२ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App