८ चैत्र २०८२ आइतबार
image/svg+xml
अपराध

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ

प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।

शुक्रबार र शनिबार विभिन्न ६ वटा जिल्लाबाट खैरो हेरोइन, ब्राउनसुगर र नियन्त्रित औषधिजन्य लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

मोरङको विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट प्रहरीले १ सय ग्राम खैरो हेरोइनसहित भारतको बिहारस्थित फारबिसगन्जका २५ वर्षीय विपुल वर्मालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले उनलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो।

उता, दाङको लमही नगरपालिका–४ शान्तिनगरबाट २० वर्षीय गुलाम हुसेन १ ग्राम ८ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।

घरमै लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालयको टोलीले उनलाई पक्रेको हो। यसैगरी, इलाम नगरपालिका–८ सिंहबाहिनीस्थित डेराबाट २ सय ८० मिलिग्राम ब्राउनसुगरसहित २० वर्षीय विवेक लिम्बु र अन्य ३ जना गरी जम्मा ४ जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार राति पक्राउ गरेको छ।

यस्तै, नियन्त्रित औषधिजन्य लागूऔषधको कारोबार तथा प्रयोगमा संलग्न रहेको आरोपमा सुनसरी, तनहुँ र चितवनबाट ३ जना पक्राउ परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित टेम्पो स्ट्यान्ड अगाडिबाट २२ वर्षीय आयुष गुरुङ ३ सय ट्याब्लेट ट्रामाडोल र ३ सय ट्याब्लेट डिकोलिकसहित शुक्रबार साँझ समातिएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट ३१ वर्षीय सागर गुरुङ ७ एम्पुल डाइजेपाम, ७ एम्पुल फेनारगन र ७ एम्पुल बुप्रेनोर्फिनसहित पक्राउ परेका छन्।

त्यस्तै, चितवनको खैरहनी नगरपालिका–१३ हर्नरीका २४ वर्षीय करन मर्दनियालाई ३ सय २२ ट्याब्लेट ट्रामाडोल र ३ सय ३० ट्याब्लेट एनारगनसहित शनिबार बिहान प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूले आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अघि बढाएका छन्।

प्रकाशित: ७ चैत्र २०८२ १७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App