नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्तरिम सरकारमा जेन–जीको प्रतिनिधित्वका विषयमा प्रश्न उठाएका छन्। बिहीबार जनकपुरमा कार्यकर्तासँग भेटघाटका क्रममा महामन्त्री शर्माले सरकारमा योग्य मन्त्री छनोट गरे पनि जेन–जीको प्रतिनिधित्व नहुनुमा प्रश्न उठाएका हुन्।
‘बनेका सबै मन्त्री योग्य देख्छु, एक से एक व्यक्ति मन्त्री हुनुहुन्छ,’ महामन्त्री शर्माले भने, ‘तर एक जना पनि जेन–जी युवा मन्त्री नबनाइनु तिनको योग्यता प्रति अविश्वास कि आन्दोलनको अपहरण? आन्दोलन जेन–जीको, बलिदान जेन–जीको, तर सरकारमा खोइ जेन–जी?’
संविधान अहिले घाइते अवस्थामा रहेको बताउँदै उनले निर्वाचनमार्फत संसद् ब्युँताएर संविधानलाई ट्र्याकमा ल्याउनुपर्ने बताए। जेन–जीको भावना सम्बोधन गरिरहँदा २०६२÷६३ को आन्दोलनको भावना, संविधानसभाले निर्माण गरेको संविधानले नागरिकलाई दिएको अधिकार अनि मधेस आन्दोलनले स्थापित गरेको अधिकारलाई कुण्ठित नगरी अघि बढ्नु नयाँ सरकारको जिम्मेवारी रहेको पनि महामन्त्री शर्माले बताए।
अर्को प्रसङ्गमा महामन्त्री शर्माले मङ्सिर भित्र कांग्रेसको १५ औँ महाधिवेशन या मंसिर मसान्तभित्रै विशेष महाधिवेशन अहिलेको अनिवार्य बाटो रहेको बताए। ‘केन्द्रीय समितिबाट संयम र सहमतिपूर्वक त्यो बाटोमा हामी पुग्नेछौँ, पुग्नुपर्छ,’ उनले भने।
प्रकाशित: ९ आश्विन २०८२ १८:२६ बिहीबार





