२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन अर्को वर्ष

बहुमतबाट नयाँ कार्यतालिका, पुसभित्र विशेष महाधिवेशन बोलाउने पक्षमा महामन्त्री थापा

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने गरी नयाँ कार्यतालिका तय गरेको छ। पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले पुस अन्तिम साता नै विशेष महाधिवेशन बोलाउने बताइरहेका बेला शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने गरी नयाँ मिति तय गरेको हो।

४९ दिनसम्म लम्बिएको केन्द्रीय समितिको मंसिर १५ गतेको बैठकले पुस २६ गतेदेखि काठमाडौं १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो तर कांग्रेस महाधिवेशनको आधार रहेको क्रियाशील सदस्यताको टुंगो लाग्नै नसकेको जनाउँदै कार्यसम्पादन समितिले नयाँ मिति तोकेको हो। पार्टी कार्यसम्पादन समितिको बहुमतबाट महाधिवेशनको कार्यतालिका तय गर्दै कांग्रेसले चैत २१ गतेबाट वडा अधिवेशन सुरु गरेर वैशाख ३१ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

माघ १५ गतेभित्र क्रियाशील सदस्यता टुंगो लगाउने निर्णय गरेको कांग्रेसले चैत २५ गते गाउँ÷नगर, चैत २८ गते प्रदेश क्षेत्र, वैशाख २ गते एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला, वैशाख ५ गते एकभन्दा बढी क्षेत्र भएका जिल्ला र वैशाख १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। साथै केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका सबै तहको कार्यकाल जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। पार्टी विधानको धारा ४३ अनुसार सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि थप गर्ने निर्णय गरेको छ।

यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पनि पुस २६ गते काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिकासहित सबै तहको कार्यकाल माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो। महामन्त्री थापाले आफ्नो हातले पार्टीका कुनै पनि तहको कार्यकाल थपको निर्णय नगर्ने बताएका थिए तर कांग्रेसले दुई पटक म्याद थपको निर्णय गरिसकेको छ।

कांग्रेसको विधानको धारा ४३ ले कुनै विशेष अवस्था आए एक वर्षसम्म कार्यताल थप गर्न सकिने व्यवस्था गरेको छ। विधानको व्यवस्था अनुसार गत मंसिरमा चार वर्षे कार्यकाल पूरा गरेको कांग्रेसले सोही व्यवस्थामाथि टेक्दै म्याद थपको निर्णय गरेको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कार्य सम्पादन समितिले सबै तहको कार्यकाल जेठ मसान्तसम्म थप गर्दै १५औं महाधिवेशनको नयाँ कार्यतालिका तय गरेको जानकारी दिए। महाधिवेशनको कार्यतालिकासहित विषयमा पार्टीका केही नेताको फरक मत रहेको पनि महतले जानकारी दिए।

बैठकमा महामन्त्रीद्वय थापा र शर्माका साथै नेताहरू फर्मुला मन्सुर, अर्जुननरसिंह केसी, उमा रेग्मीले निर्णयमा असहमति जनाएका छन्। महाधिवेशनको कार्यतालिकाप्रति आफ्नो समर्थन रहे पनि विशेष महाधिवेशनको मागसहित असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दिने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई सम्बोधन गर्नुपर्ने तर्क महामन्त्री शर्माले गरेका थिए।

पार्टी विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने तर्क गर्दै महामन्त्री शर्माले केन्द्रीय समितिले त्यसलाई स्वामित्व लिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। त्यसबाट नै नीति र नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरिएका थियो। अहिलेको अवस्थामा त्यसरी अघि बढ्न नसके विशेष महाधिवेशन पक्षधरको मागअनुसार संकल्प सम्मेलन गर्ने अर्को विकल्प शर्माले राखेका थिए। ‘नेतृत्व परिवर्तन गरेर जान सकिन्न भन्ने हो भने पनि पार्टी फुटाउने कुरा हुन्न,’ उनले भने, ‘नेपाली कांग्रेसले त्यस्तो अवस्थामा देशका सामुन्ने एकढिक्का भएर एउटा संकल्प बनाउन राष्ट्रिय संकल्प सम्मेलन गर्नुपर्ने वा विशेष महाधिवेशनमा जानुपर्ने हुन्छ।’

अर्का महामन्त्री थापाले पार्टीको विधानअनुसार कार्यकाल थप गर्ने कार्यसम्पादन समितिले निर्णय लिँदा विधानअनुसार महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई नकार्न नसकिने धारणा राखेका थिए।

पार्टीका जिम्मेवार नेताहरूले आफूमाथि निरन्तर आक्षेप लगाउने काम भएको गुनासो गर्दै थापाले सभापति, कार्यवाहक सभापतिसहितका नेताहरू बसेर दुई/तीन दिनभित्र विशेष महाधिवेशनको विषयलाई टुंगोमा पु¥याउनुपर्ने बताएका थिए।

 पार्टी विधानको १७ को २ मा रहेको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई सम्बोधन गर्नुपर्ने तर्क उनले गरे। त्यस विषयलाई सम्बोधन नगरी वैशाखमा महाधिवेशनको कार्यतालिका ल्याउने कुरामा आफ्नो सहमति नरहेको थापाले जनाए।

पार्टी सभापतिसहितका नेताहरूले विधानअनुसार माग भएको विषयलाई सम्बोधन नगरे केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्रीले विशेष महाधिवेशन बोलाउने पनि थापाले बताए। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्ना कुरा दर्ज गराएका थापाले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरे।

कांग्रेस विधानको दफा १७ (२) ले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्ने व्यवस्था रहेको महामन्त्री थापाले बताए। त्यही आधारमा ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले कि आवधिक महाधिवेशन कि विशेष महाधिवेशन भन्दै आएको बताउँदै उनले भने, ‘आजको बैठकबाट आवधिक महाधिवेशन नहुने कुरा निश्चित भयो। त्यसैले अब विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन बाध्यकारी छ।’

त्यो विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि केन्द्रले आह्वान गरेर हुन्छ भन्ने केही दिनमा टुंगो लाग्ने उनले बताए। विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले विशेष महाधिवेशन नबोलाए केन्द्रीय कार्यालयले बोलाउने बताउँदै उनले भने, ‘केन्द्रीय कार्यालय भने महामन्त्री हो। महामन्त्रीले पनि विशेष महाधिवेशन बोलाउन सक्छ।’

तर कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको माग र औचित्य समाप्त भइसकेको निर्णय गरेको छ। मंसिर १५ गते सम्पन्न केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी विधानअनुसार प्रक्रिया अघि बढिसकेको जनाएको छ।

विधानबमोजिम समयमै नियमित १५औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

महामन्त्री थापासहित विशेष महाधिवेशन पक्षधरले पुसभित्र विशेष महाधिवेशन बोलाइछाड्ने अडान लिए कांग्रेस फेरि विभाजनमा पुग्न सक्ने नेताहरूको बुझाइ छ तर महामन्त्रीद्वय थापा र शर्माले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बैठकमा स्पष्ट पारेका थिए। कांग्रेसमा नै आफूहरूको भविष्य रहेको जनाउँदै उनीहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन प्रतिबद्ध रहेको जनाएको बैठकमा सहभागी एक नेताले बताए।

पार्टीको विधान कार्यान्वयन गर्दा पार्टी नफुट्ने बताउँदै महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी फुट्दैन एक ढिक्का रहन्छ। कसैले आशंका नराखे हुन्छ।’

भदौ २४ गतेअघि र पछिको अवस्था एउटै हो भन्ने सोचले कांग्रेस अप्ठेरोमा परेको धारणा राख्दै थापाले भने, ‘विधानको व्यवस्था कार्यान्वयन गरौं भन्दा कसरी पार्टी विभाजन हुन्छ? त्यसो हो भने विधानमा विशेष महाधिवेशनको व्यवस्था किन राखिएको?’

कांग्रेसभित्रको आन्तरिक कलह र विवाद अझै समाधान उन्मुख भइनसकेको जनाउँदै एक नेताले भने, ‘कांग्रेस विवाद र विभाजनसहितको संकट अझै टरिसकेको छैन।’

प्रकाशित: १९ पुस २०८२ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App