नेपाली कांग्रेसले आफ्नो आगामी १५ औं महाधिवेशनको निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने भएको छ। साथै, काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृत खटाउने महत्त्वपूर्ण निर्णयसमेत पार्टीले गरेको छ।
आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने निष्कर्ष निकालेको हो।
समितिले निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ प्रविधि अर्थात् विद्युतीय मतदान मेसिन मार्फत अगाडि बढाउने निर्णय गरेको छ।
बैठकले समावेशिता र महिला सहभागितालाई जोड दिँदै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा विशेष व्यवस्था लागू गरेको छ। यी तीन जिल्ला, यसअन्तर्गतका १५ वटै निर्वाचन क्षेत्र तथा महानगर र नगरपालिकाहरूमा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकता दिएर खटाइने निर्णय समितिले गरेको छ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आचारसंहितामा समेत कडाइ गर्ने जनाएको छ।
निर्वाचन प्रक्रिया सुरु भएदेखि नै आचारसंहिता पूर्ण रूपमा लागू हुने भएकाले विधानमा उल्लेख भएबाहेकको अवस्थामा यसको कडाइका साथ पालना गर्न केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायलाई आग्रह गरिएको छ।
यसैगरी, निर्वाचन कार्यलाई थप व्यवस्थित बनाउन कानुन व्यवसायी तथा अन्य पेसागत समूहलाई स्वयंसेवकका रूपमा आह्वान गर्दै ‘रोस्टर’ तयार गरिनेछ।
यसरी रोस्टरमा आबद्ध व्यक्तिहरूलाई अभिमुखीकरण कार्यक्रममा सहभागी गराई आवश्यकताअनुसार निर्वाचन अधिकृतका रूपमा खटाउने निर्णयसमेत बैठकले गरेको छ।
प्रकाशित: २१ असार २०८३ २१:१६ आइतबार




