१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: सभापति बन्न संस्थापनमा ४० हजार, देउवा समूहमा ३० हजार मात्र !

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। पार्टीभित्रको विवादका कारण संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नभएको देउवा समूहले छुट्टै महाधिवेशनका लागि निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो।

पूर्वमहामन्त्री डा. शशांक कोइराला नेतृत्वको १५औँ महाधिवेशन तयारी समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्देशिकामा वडा तहदेखि केन्द्रीय तहसम्म उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरिएको छ।

निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

प्रदेश तहमा सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा सदस्य पदका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।

यसअघि संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा केन्द्रीय सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको थियो।

देउवा पक्षले यसअघि नै असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। महाधिवेशन तयारीका लागि विभिन्न जिल्लामा संयोजक तथा केन्द्रीय प्रतिनिधिसमेत खटाइएको छ।

निर्देशिकामा उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारको विवरणसँगै प्रस्तावक–समर्थकको विवरण, क्रियाशील सदस्यता नम्बर तथा निर्धारित शुल्क बुझाएको रसिद पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय सभापतिका उम्मेदवारका लागि सात जना प्रस्तावक र सात जना समर्थक आवश्यक पर्ने व्यवस्था पनि गरिएको छ।

नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया र पार्टीको आधिकारिकतासम्बन्धी विवाद भने कायमै छ। देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्दै आफ्नो नेतृत्वमा छुट्टै महाधिवेशन अघि बढाइरहेको छ भने अर्को पक्षले आफ्नो निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ।

प्रकाशित: १२ आश्विन २०८३ १८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App