९ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाटै समाधान गर्नुपर्छ : प्रवक्ता चालिसे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र देखिएको असन्तुष्टि र विवादको समाधान अदालतबाट नभई पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभित्रै खोजिनुपर्ने बताएका छन्। 

१५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले रिट दायर गरेपछि प्रवक्ता चालिसेले पार्टीभित्र विश्वासको संकट देखिएपछि अदालतको बाटो रोज्ने प्रवृत्तिले कांग्रेसलाई न्याय नगर्ने बताएका हुन्। 

उनले पार्टीभित्र नेताहरूको व्यक्तिगत राजनीतिक भविष्य र पार्टीको भविष्य फरक विषय भएको उल्लेख गर्दै नेताहरूले व्यक्तिगत स्वार्थभन्दा पार्टी र जनताको विश्वासलाई प्राथमिकता दिनुपर्ने बताए। 

कांग्रेस विधानबाट सञ्चालन हुने लोकतान्त्रिक पार्टी भएकाले विधान समयसापेक्ष नभए त्यसलाई संशोधन गर्न सकिने तर भेला वा सहमतिको नाममा विधान मिच्न नहुने उनको भनाइ छ। 

महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन थप उपाय आवश्यक भए आपसी सहमतिबाट वातावरण निर्माण गर्न सकिने उनले बताए। तर विवाद समाधानका नाममा गरिने गलत अभ्यासले भविष्यमा गलत नजिर बस्न सक्नेप्रति उनले सचेत गराए। 

विधानले तोकेको समयसीमा मंसिरमा समाप्त हुँदै गएको र अदालतमा विचाराधीन पुनरावलोकन कहिले टुंगिन्छ भन्ने निश्चित नभएकाले अदालतको निर्णय पर्खेर पार्टीको लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने चालिसेले बताए। 

चालिसेले पार्टीभित्र देखिएका असन्तुष्टि र मतभेदलाई लोकतान्त्रिक विधिबाट समाधान गर्दै निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

प्रकाशित: ९ भाद्र २०८३ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App